विराटनगर— नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला पार्टीको पहिलो कोशी प्रदेश सम्मेलनमा सहभागी नहुने भएका छन् । गृहनगर विराटनगरमा हुने सम्मेलनमा दोस्रो वरीयता नपाउने भएपछि कोइराला सहभागी नहुने भएका हुन् ।

प्रदेश समितिको पहिलो सम्मेलन शनिबार बिहान ११ बजे उद्घाटन हुँदैछ । यो कार्यक्रममा कोइरालालाई पनि निम्तो गरिएको छ । तर, कोइराला चितवनतिर लागेका छन् । सम्मेलनका लागि सभापति शेरबहादुर देउवासहित केन्द्रीय नेताहरु विराटनगर आइसकेका छन् ।डाक्टर कोइरालाका निजीसचिव दिनेशचन्द्र थपलियाका अनुसार शनिबार उनी चितवनमा आयोजित दुई शोकसभामा सहभागी हुनेछन् ।कोइरालाले गृहनगर विराटनगरमा हुने प्रदेश सम्मेलनमा सभापतिपछिको पोर्टफोलियोुमा आफूलाई आशनग्रहण गराउनुपर्ने प्रस्ताव गरेका थिए । तर, प्रदेश समितिले केन्द्रीय समितिको रोलक्रम अनुसार आशनग्रहण गराउने भनेपछि कोइरालाले बहिस्कार गरेका हुन् ।

‘उहाँले  शुक्रबार बिहानसम्म दोस्रो ‘पोर्टफोलियो’ हुन्छ भने आउँछु भन्नु भएको थियो । तर, केन्द्रीय समितिको रोलक्रम अनुसार हुने भनेपछि चितवन जानुभएछ,’ कांग्रेस संस्थापन पक्षका एक नेताले भने, ‘नआउने जानकारी पठाइसक्नु भएको छ ।’पार्टी सभापति शेरबहादुर देउवापछिको वरीयतामा उपसभापति पूर्णबहादुर खड्का छन् । १४ औं महाधिवेशनमा सभापतिमा पराजित कोइरालाले खड्काभन्दा माथि आफ्नो वरीयता हुनुपर्ने बताउँदै आएका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री भूपेन्द्र राई प्रदेश समितिले केन्द्रीय नेताहरुलाई उपस्थितिका लागि निम्तो पठाएको बताउँछन् । डाक्टर शेखर कोइरालालाई समेत निम्तो पठाएको उनले बताए ।

‘‘प्रदेश सम्मेलनमा सबै नेतालाई बोलाएका छौं । को आउने, को नआउने भोलि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘पार्टीको केन्द्रीय समितिले ‘पोर्टफोलियो’ व्यवस्थापन गरेको छ । त्यसलाई प्रदेश समितिले स्वीकार गर्ने हो ।’कोइरालाले प्रदेश सम्मेलनअघि मंसिर १८ गते विराटनगरमा प्रदेशस्तरीय पालिका सभापतिको सम्मेलन नाम दिएर ‘गुट भेला’को आयोजना गरेका थिए । सम्मेलन १९ गते बेलबारीमा सम्पन्न भयो । यो भेला रोक्नका लागि संस्थापन पक्षले प्रयास गरेपनि सकेन ।

कोशी प्रदेश समितिमा संस्थापन पक्षको बहुमत छ । संस्थापन पक्षले उपसभापति पूर्णबहादुर खड्कालाई बोलाएको छ । उनी विराटनगर आइसकेका छन् ।

डाक्टर कोइराला पक्षका सभापति भएको लुम्बिनी प्रदेशको सम्मेलनमा भने उनी दोस्रो वरीयतामा थिए । २०८० मंसिर १६ र १७ गते भएको उक्त सम्मेलनमा उपसभापति पूर्णबहादुर खड्का उपस्थित थिएनन् ।