दिल्ली —भारतका पूर्वप्रधानमन्त्री डा.मनमोहन सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । उनलाई बेलुका ८ः०६ बजे दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स)मा ल्याइएको थियो। उनी घरमै बेहोस भएका थिए ।
अस्पतालको बुलेटिनका अनुसार उनलाई इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो, जहाँ राति ९:५१ मा उनले अन्तिम सास लिए। उनी लामो समयदेखि बिरामी थिए ।
मनमोहन सिंह २००४ मा भारतको १४ औं प्रधानमन्त्री बने र मे २०१४ सम्म प्रधानमन्त्री भएर दुई कार्यकाल सेवा गरे। उनी पहिलो सिख र देशको चौथो सबैभन्दा लामो समयसम्म सेवा गर्ने प्रधानमन्त्री थिए।
भारतको केन्द्र सरकारले उनको निधनमा ७ दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । साथै शुक्रबारका लागि तय भएका सबै कार्यक्रम पनि रद्द गरिएको छ । डा. मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने छ ।
राहुल गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खर्गे बेलगावीबाट अबेर राति दिल्ली पुगेपछि सीधा मोतीलाल नेहरू मार्गमा रहेको मनमोहन सिंहको घर पुगे। मनमोहन सिंहको निधनमा राहुलले लेखेखेका छन् -मैले मेरो मार्गदर्शक र गुरु गुमाएको छु।'




















