काठमाडौँ —गत महिनामात्र सन् २०२४ को मिसेस हेरिटेज इन्टरनेशलको उपाधि जितेर नेपालको कीर्तिमान कायम गरेकी विभा बस्नेत नेकपाएमालेमा प्रवेश गरेकी छन् । आइतबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा आयोजित कार्यक्रममार्फत बस्नेतलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लोगो लगाइदिएर एमालेमा स्वागत गरेका हुन् ।
थाइल्याण्डमा सम्पन्न मिसेस हेरिटेज इन्टरनेशनलको प्रतियोगितामा नेपालको तर्फबाट भाग लिएकी बस्नेत संसारभरका प्रतिस्पर्धीलाई उछिनेर उपाधि जित्न सफल भएकी थिइन् ।
पार्टी प्रवेश गर्दै उनले आफू अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘बिग फ्यान’ भएकाले राजनीतिमार्फत सामाजिक काम गर्न एमाले प्रवेश गरेको बताइन् । यो सातौं संस्करणको उपाधी जित्ने उनी पहिलो नेपाली हुन् ।
उनी संगै नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष रविन पोखरेल,युवाहरु शिवानी गौतम, गायत्री बिसीलगायत पनि एमालेमा समाहित भएका छन् ।
प्रवेश कार्यक्रममा एमालेका उपमहासचिव विष्णुप्रसाद रिमाल, सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारी, जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाललगायतका नेताहरुको उपस्थिति रहेको थियो ।




















