काठमाडौं—नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले पार्टीले कारवाही गर्नुअघि नै आफ्नो नेतृत्वमा नयाँ दल खोल्ने गृहकार्यमा सक्रियतापुर्वक लागेको तथ्य खुलेको छ ।
पुस १० गते पार्टीबाट निस्कासित भएका रावलले त्यो भन्दा दुई साता अघिदेखि नै नयाँ पार्टी निर्माणको तयारीमा जुटेको तथ्य बाहिर आएको हो । पार्टीले कारवाही गर्नु भन्दा केही दिन अघि रावलले सुदूरपश्चिमका प्रदेशसभा सदस्य डा. तारा जोशीलाई भेटेरै आफू नयाँ दल गठनको अन्तिम तयारीमा रहेको भन्दै साथ दिन आग्रह गरेका थिए ।
तर, जोशीले तत्काल त्यस्तो मनसाय नबनाएको जवाफ दिएका थिए । जोशीसँग रावलले अव कम्युनिष्ट पार्टी बनाएर चलाउन नसक्ने भन्दै गैरकम्युनिष्ट पार्टी बनाउने योजना पनि सुनाएका थिए । भेटमा रावलसँग जोशीले पार्टीबारे जानकारी माग्दा रावलले गैर कम्युनिष्ट पार्टीको अध्यक्ष बन्ने योजना सुनाएको हो । ‘तपाईंले खोल्ने पार्टी कम्युनिस्ट त होला नि हैन ?’ जोशीले प्रश्नमा रावलको जवाफ थियो, ‘नाइँ ! अब गैरकम्युनिष्ट पार्टी खोल्छु’ रावलको प्रतिक्रिया थियो ।
जोशीसँगको त्यो संवादको केही दिनपछि एमालेले साधारण सदस्य समेत नरहने गरी रावललाई कारवाही गरेको थियो । सो कारवाहीले आफ्नो अभियानलाई फाइदा पुग्ने भन्दै रावल एमाले नेतृत्वबिरुद्ध तथानाम गर्दै पार्टी गठनको काममा लागेका छन् । नयाँ पार्टी गठनमा जुटेका रावलले नेताहरुसँग ‘नेपालमा अव एमालेबाहेकको कम्युनिष्ट पार्टी चल्दैन । त्यसैले गैरकम्युनिष्ट पार्टी बनाउने’ भन्दै कन्भिन्स गर्न थालेका छन् ।
कार्वाही पछि पनि सोमबारमात्रै रावलले नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेशका स्वतन्त्र सांसद डा. तारा जोशीसँग पुन भेट गरेका छन् । रावलसँग भेट गरेका मल्ल नेपाली कांग्रेस डडेल्धुराका पूर्वजिल्ला सभापति र जोशी एमाले हुँदै नेकपा एकीकृत समाजवादी गई माधव नेपालबाट धोखा पाएपछि स्वतन्त्र उठेर निर्वाचित प्रदेश सांसद छन् ।




















