विराटचोक—नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कोशी प्रदेश कमिटीले पाँचौं पूर्ण बैठक र जरा केन्द्रित ३ महिने अभियानको अभिमुखीकरण कार्यक्रम गर्ने तयारी गरेको छ।
पाँचौं पूर्ण बैठक यही पुस २७ गते बिहान ११ बजे विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा बस्ने भएको छ। प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले बैठकबारे जानकारी दिँदै भूगोल केन्द्रित केन्द्रीय सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, सदस्यहरू, र जिल्ला कमिटीका अध्यक्षहरू बैठकमा सहभागी हुने बताएका छन्।
बैठकको एजेन्डा भने प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले पार्टी केन्द्रीय बैठकमा सहभागी भएर फर्किएपछि तय गरिने उल्लेख गरिएको छ।
त्यसैगरी कोशी प्रदेश कमिटीले पुस २८ गते बिहान ११ बजे सोही स्थानमा जरा केन्द्रित ३ महिने अभियानको अभिमुखीकरण कार्यक्रम गर्ने भएको छ।
प्रदेश कमिटीका कार्यालय सचिव नरेन्द्र बरालका अनुसार, भूगोल केन्द्रित पार्टीका केन्द्रीय सदस्यहरू,प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरू,जिल्ला कमिटीका अध्यक्ष र पदाधिकारीहरू,जनसंगठनका केन्द्रीय पदाधिकारी र प्रदेश कमिटीका अध्यक्षहरू कार्यक्रममा सहभागी हुन पाउने छन् ।




















