काठमाडौं—नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)प्रति लक्षित गर्दै समाजवादको नाममा खोलिएका पसलहरू चल्न नदिने बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आसन्न निर्वाचनका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले एमालेको नीति र नेतृत्वलाई स्वीकार गरेर आउने आउनेलाई एकताबद्ध गर्ने तर अनावश्यक भाउ भने नदिइने प्रष्ट पारे ।
‘कुनै पनि खालको बार्गेनिङ स्वीकार्य हुने छैन,’ अध्यक्ष ओलीले भने, ‘समाजवादसँग कुनै साइनो नभएका मान्छेहरूले पनि समाजवादको नाममा पसल खोल्न खोजेका छन् । यस्ता पसलहरू चल्न दिइने छैन ।’
नेकपा एसतर्फ संकेत गर्दै अध्यक्ष ओलीले भने, ‘सुका पर्ने भाउलाई एक रुपैयाँ किन दिने ? एमालेमा मर्ज हुन आउनेलाई स्वागत छ, तर एकताको नाममा अनावश्यक सौदाबाजी चल्न सक्दैन ।’
यसैगरी, अध्यक्ष ओलीले प्रजातन्त्रको नाममा, जनवादको नाममा मनपरी बोल्ने र अराजकता मच्चाउने छुट पार्टी तथा जनसंगठनहरुमा नदिइने प्रष्ट पारे । उनले कमिटीमा आफ्ना भनाइ राख्ने तर नेतृत्वले गरेको निर्णय बोकेर हिँड्नपर्ने बताए । अध्यक्ष ओलीले आगामी फागुन १५ गते हुने स्ववियुको निर्वाचनमा अनेरास्ववियुले एकताबद्ध भएर प्रतिस्पर्धा गर्ने र विजयी हुने विश्वास व्यक्त गरे ।




















