काठमाडौँ—काठमाडौं जिल्ला अदालत परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको हातपातको घटना हाल नेपालको कानूनी, सामाजिक, र राजनीतिक वृत्तमा गम्भीर चर्चा र बहसको विषय बनेको छ।

स्वर्णलक्ष्मी सहकारी ठगीका अभियुक्त रवि लामिछानेविरुद्ध बहस गरेर बाहिरिँदै गर्दा बुधबार काठमाडौँ जिल्ला अदालत परिसरमै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी कुटिएको घटनाले अहिले निकै चर्चा पाइरहेको छ। 

जाहेरवालाका तर्फबाट बहस गरेर बाहिर निस्केका त्रिपाठीलाई अदालत बाहिर बसेको एक समूहले हातपात गरेको थियो। जतिबेला अदालभित्र थुनछेक आदेश तयारी हुँदै थियो। 

पीडित वरिष्ठ अधिवक्ता त्रिपाठीले कसैले नछुटाएको भए आफू मारिने नै खतरा भएको दाबी गरेका छन्। 

घटनापछि एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘सुरुमा एउटाले यो टाइ तान्यो। टाइ तानेपछि घाँटी कसिएर मरिन्छ कि जस्तो भयो। तर एकजना कसैले बल्लबल्ल छुटायो। कहाँबाट एकजना आइपुग्यो, जसले मप्रति सहानुभूति राख्दोरैछ। एकजनाले कोटै तान्यो, एउटाले चाहिँ मेरो झोलै लिएर भाग्न थाल्यो।’

उनले आफूलाई आक्रमण गर्ने रास्वपाकै कार्यकर्ता भएको दाबी पनि गरेका छन्। घटनामा संलग्न आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरिसकेको छ। 

रास्वपाले भने अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने मानिस आफ्ना कार्यकर्ता भए कारबाही गर्ने बताएको छ।  

त्रिपाठीमाथि भएको आक्रमणलाई कानूनी व्यवसायमा भएको जोखिमको रूपमा हेरिएको छ। अधिवक्ता समाजले घटनाको निन्दा गर्दै दोषीमाथि कडा कानूनी कारबाहीको माग गरेको छ।