विराटचोक—कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापामाथि झापाको कनकाई नगरपालिकास्थित जुकेखाडी नजिक आक्रमण भएको छ।
नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्कने क्रममा थापामाथि आक्रमण भएको हो। उनले बा १ झ ६५३ नम्बरको गाडीमा यात्रा गरिरहेकै बेला बा १ ज १८७० नम्बरको गाडीमा सवार एक समूहले आक्रमण गरेको बताइएको छ।
थापामाथि भएको कुटपिटका कारण उनको आँखा सुन्निएको छ। उनलाई तत्कालै उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ। प्रारम्भिक रिपोर्ट अनुसार, थापाको गाडीले विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई ओभरटेक गर्ने क्रममा विवाद भएको र त्यसपछि आक्रमण भएको जनाइएको छ।
आक्रमणमा संलग्न केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















