एजेन्सी—भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेला क्षेत्रभित्र सिलिन्डर विस्फोटका कारण भिषण आगलागी भएको घटनाले ठूलो क्षति पुर्याएको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार, सिलिन्डर पड्किएपछि लागेको आगोले १८-१९ वटा पाल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
आगलागी नियन्त्रणका लागि धेरै दमकल परिचालन गरिएको भए पनि आगो फैलिँदै गएको खबर आएको छ। घटनास्थलमा प्रहरी र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) को टोली परिचालित भई वरपरको क्षेत्र खाली गरिरहेको छ। शास्त्री पुल र रेलवे पुलको बीचमा रहेको महाकुम्भ मेला क्षेत्र यो आगलागीबाट प्रभावित भएको हो।
हालसम्म विस्फोट र आगलागीका कारण भएको मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण प्राप्त भएको छैन। घटनाको कारण र यसले पुर्याएको हानिबारे अनुसन्धान जारी रहेको छ। महाकुम्भजस्तो धार्मिक एवं सांस्कृतिक महत्त्वको ठूला मेलामा यस्तो घटना हुनुले जनमानसमा ठूलो असर परेको छ।




















