धनकुटा – धनकुटा बजारमा बुधबार दिउँसो १२ बजे दिउँसै लुटपाट भएको छ। धनकुटाको हुलाकटोलस्थित जिल्ला अस्पताल अगाडि ७३ वर्षीया रत्नमाया तामाङको झोला लुटिएको हो। झोलामा करिब डेढ लाख नगद र कागजपत्र रहेको धनकुटाका प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले जानकारी दिएका छन्।
वृद्धा तामाङ धनकुटा नगरपालिका-१० की स्थायी बासिन्दा हुन्। उनले मदनचोकस्थित माछापुच्छ्रे बैङ्कबाट तीन महिनाको वृद्धभत्ताबापत १२ हजार रुपैयाँ समेत निकालेकी थिइन्। बैंकबाट बाहिरिँदा उनका साथमा वृद्धभत्तासहित अन्य रकम मिलेर झन्डै डेढ लाख नगद रहेको बताइएको छ।
लुटपाटका क्रममा एक युवाले वृद्धाको झोला खोसेर गल्लीतर्फ भागेको दृश्य सीसीटीभी क्यामेरामा कैद भएको छ। तर, लुटेराको पहिचान अहिलेसम्म खुलेको छैन।
प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गरिरहेको छ। बजार क्षेत्रमा दिउँसै भएको यो घटनाले स्थानीय बासिन्दामा त्रास फैलाएको छ। प्रहरी प्रमुख एसपी चौधरीले अपराधीलाई चाँडै नियन्त्रणमा लिने र घटनाबारे थप अनुसन्धान भइरहेको बताए।




















