काठमाडौं—नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतद्वारा लगाइएको नाकाबन्दीलाई जनताको साथ लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा असफल बनाएको बताएका छन्।

राष्ट्रिय युवा संघ नेपालको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले ओलीको दह्रो अडानकै कारण नाकाबन्दी असफल बनेको र अहिले त्यसकै कारण एमालेमाथि प्रहार भइरहेको दाबी गरे। उनले भने, "संविधान जारी भएपछि नाकाबन्दी लगाइयो। त्यतिबेला सरकारमा भएका दलहरूले नाकाबन्दी भन्न पनि सकेनन्। तर, ओलीले प्रधानमन्त्री बनेपछि यो नाकाबन्दी नै हो भनेर स्पष्ट अडान लिनुभयो। जनताको साथमा दह्रो अडान लिएर नाकाबन्दी असफल पार्नुभयो।"

संविधान निर्माणको क्रममा भएका अवरोधहरूको स्मरण गर्दै पोखरेलले संविधान बन्न नदिन विभिन्न प्रपञ्च रचिएको र संविधान जारी भएपछि नाकाबन्दी लगाइएको बताए। उनले ओलीको नेतृत्वमा संविधान निर्माण र नाकाबन्दीको सामना सफलतापूर्वक गरिएको उल्लेख गरे।

महासचिव पोखरेलले नेपालको संविधान नेपालको संविधानसभाले नै बनाउने र कुनै बाह्य हस्तक्षेप स्वीकार्य नहुने अडान ओलीले भारतीय विदेशमन्त्रीसँग पनि राखेको स्मरण गराए। "नेपालको समस्या नेपालभित्रकै राजनीतिक दलहरूले समाधान गर्छन्," भन्ने ओलीको दृढताले राष्ट्रिय स्वाभिमानको रक्षा गरेको उनले बताए।

May be an image of crowd