काठमाडौं—नेकपा एमालेले नेता भीम रावललाई पार्टीबाट निस्काशन गर्नु र नेताहरू बिन्दा पाण्डे तथा उषाकिरण तिम्सिनालाई निलम्बन गर्नुका कारणहरू प्रष्ट पार्दै एक अन्तर पार्टी निर्देशन (अपानी) जारी गरेको छ।
एमालेको गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकका निर्णयबारे जानकारी गराउन अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा यसबारे प्रष्ट पारिएको हो।
भनिएको छ, ‘पार्टीको संस्थागत निर्णयको खिलापमा पार्टीलाई नकारात्मक असर पुग्ने अभिव्यक्ति दिएका कारणले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोधिएको थियो। उहाँहरू दुवैजनाबाट प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नरहेकोले सचिवालयको ४२औं बैठकले पद एवं जिम्मेवारीबाट ६/६ महिना निलम्बन गर्ने र पार्टी निर्देशनमा चल्न निर्देशन दिने निर्णय भएको छ।’




















