विराटनगर—पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको आवश्यकताले माग गरेमा आफू दलीय राजनीतिमा पुनः सक्रिय हुने सम्भावना रहेको बताउनुभएको छ। गृहप्रदेश कोशी प्रदेशको विराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भण्डारीले यस्तो घोषणा गर्नुभएको हो।

यद्यपी उहाँले अहिले नै कुनै दलमा आवद्ध हुने निर्णयमा आफू नपुगेको प्रष्ट पार्नुभयो । दलीय राजनीतिमा फर्कने र एमालेको अध्यक्ष बन्ने प्रयासमा रहेको हो कि होइन भन्दै सञ्चारकर्मीले पटकपटक सोधेको प्रश्नमा भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः फर्कने बताउनु भयो । पूर्वराष्ट्रपति भण्डारीले दलीय राजनीतिमा नभए पनि आफू अहिले पनि राष्ट्रिय राजनीतिमा भने सक्रिय नै रहेको पनि बताउनु भयो ।

‘राष्ट्रपति पद गैरराजनीतिक पद होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु,’ भण्डारीले भन्नुभयो । ती एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपरे सोहीबेला निर्णय गर्ने उहाँले प्रष्ट पार्नुभयो ।

दलीय राजनीति राजनीतिकमा सक्रिय हुने अवस्थामा एमालेमै जानुपर्ने उहाँको भनाइ थियो । एमालेको भावी अध्यक्षको भूमिका आउन चाहनुभएको हो भन्ने प्रश्नमा भण्डारीले भन्नुभयो, ‘दलीय राजनीतिमा लागेर पद जिम्मेवारी लिने कि नलिने भन्ने कुरामा मैले अहिले प्रवेश गरेकी छैन । भोलि कुन दलमा काम गर्ने भन्ने कुरा पनि आउँछ । भोलि जाँदा एमालेबाटै जन्मेर हुर्केर आएको हुनाले त्यही जानुपर्ने हुन्छ । तर, अहिले छलफल भएको छैन ।’

आफ्नो पुरानो गृहजिल्ला मोरङ भएकोले पुराना र नयाँ साथीसँग भेटन आफू आएको उहाँले जानकारी दिनुभयो । ‘विराटनगर मेरो पुरानो गृह जिल्ला पनि हो, राजनीति गरेको स्थान पनि हो। पुराना साथी र नयाँ पुस्तासँग पनि भेट हुने भएर म आएको हुँ । यही क्रममा तपाईंहरूसँग पनि भेट्न मन लाग्यो,’ उहाँले भन्नुभयो । पूर्वराष्ट्रपति भण्डारी सुनसरीको इटहरीस्थित जनतामाविको वार्षिक कार्यक्रममा सहभागी हुन जाने क्रममा विराटनगरमा सञ्चारकर्मीसँग छोटो सम्वाद गर्नुभएको थियो ।

पूर्वराष्ट्रपति भण्डारीको यस अभिव्यक्तिले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ। राष्ट्रको आवश्यकता र परिस्थितिका आधारमा भण्डारीले दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने सम्भावना अझै खुला रहेको देखिन्छ।