ताप्लेजुङ – पाथीभरा मुक्कुम्लुङ क्षेत्रको प्रस्तावित केबलकार निर्माणको विरोधमा पहिचान पक्षधर र नो केबलकार समूहले आह्वान गरेको अनिश्चितकालीन यातायात बन्दका कारण मंगलबारदेखि ताप्लेजुङ र आसपासका क्षेत्रको जनजीवन प्रभावित बनेको छ।

मेची राजमार्ग, ताप्लेजुङ, पाँचथर, इलाम, तमोर करिडोर, र तेह्रथुमका सबै यातायात सेवा पूर्ण रूपमा ठप्प भएका छन्।

आन्दोलनकारीले केबलकार निर्माण खारेज गर्न, प्रहरी हस्तक्षेप फिर्ता गर्न, र पक्राउ परेका आन्दोलनकारीलाई बिना शर्त रिहा गर्न माग गरेका छन्। त्यसैगरी ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले सार्वजनिक रूपमा माफी माग्नुपर्ने उनीहरुको माग रहेको छ ।

शनिबार बालुडाँडामा प्रहरीद्वारा गोली चलाइँदा नो केबलकार समूहका तीन जना गम्भीर घाइते भएका थिए। यसले विवादलाई थप चर्काएको छ।

यसैबीच विवाद बढ्दै गएपछि गृहमन्त्री रमेश लेखकले तनाव समाधान गर्न ताप्लेजुङबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने तीन सांसदलाई छलफलका लागि मंगलबार साँझ ५ बजे गृह मन्त्रालय बोलाएका छन्। ताप्लेजुङबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद योगेश भट्टराई, लीलादेवी बोखिम र उर्मिला थेबेलाई मन्त्री लेखकले बोलाएका हुन् ।

भट्टराई नेकपा एमालेका सचिव तथा त्यहाँका प्रत्यक्ष निर्वाचित सांसद हुन भने बोखिम र थेवे समानुपातिक सांसद हुन् । गृहमन्त्री लेखकले ताप्लेजुङका तीन सांसदसहित पाँचथर, इलाम र धनकुटाका सांसदहरुलाई पनि बोलाएको मन्त्रालयले जनाएको छ ।

ताप्लेजुङमा जारी अनिश्चितकालीन बन्दले यातायात सेवा ठप्प भएपछि सर्वसाधारणको दैनिक जीवन कठिन बनेको छ।