Highlights
  • २०७९ असार १ मा गोर्खा मिडियाबाट राजीनामा दिएर असार ७ मा रास्वपा घोषणा गरेपछि पनि असार १२ मा आफ्नै नाममा समेत चेक काटी रकम निकालेको भेटियो 

चितवन — साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगीको अभियोगमा रास्वपाका संस्थापक सभापति रवि लामिछानेसहित १५ जनाविरुद्ध मंगलबार जिल्ला अदालतमा मुद्दा दायर भएको छ । योसहित साहारा सहकारी ठगीमा अभियुक्तको संख्या ३२ पुगेको छ ।

यसअघि प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा असोज ८ मा सरकारी वकिलको कार्यालयले लामिछानेलगायतलाई छुटाएर १७ जनाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो । त्यस क्रममा सरकारी वकिलको कार्यालयले ‘उक्त सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको’ भन्दै पूरक अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो । प्रहरीको पूरक अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार लामिछानेसहित थप १५ जनाविरुद्ध मुद्दा दायर भएको हो ।

अदालतमा पेस भएको अभियोगपत्रमा गोर्खा मिडिया नेटवर्क स्थापनाका लागि ‘सिडमनी’का रूपमा साहारा सहकारीबाट एक करोड रुपैयाँ लगेको उल्लेख छ । योसहित उक्त सहकारीबाट ठगी गरी गोर्खा मिडियामा १० करोड ८० लाख १८ हजार लगिएको दाबी छ । यस्तै लामिछानेको एकल हस्ताक्षरबाट गोर्खा मिडियाका ८१४ चेकमार्फत विभिन्न ठाउँमा ४८ करोड ५८ लाख २२ हजार भुक्तानी गरेको अभियोगमा उल्लेख छ ।

अभियोगपत्रअनुसार, लामिछानेले सहकारीबाट गोर्खा मिडियामा आएको रकम अरूलाई दिनुका साथै आफूले समेत तलबबाहेक २७ लाख लिएका छन् । श्रीमती निकिता पौडेललाई ५९ लाख ३८ हजार र गोपीकृष्ण मुभिजलाई ८१ लाख २५ हजार भुक्तानी दिएको देखिन्छ । गोर्खा मिडियाको आधिकारिक व्यक्ति हुनुअघि र अलग भइसकेपछि पनि केही चेकमा लामिछानेको हस्ताक्षरबाट कारोबार भएको भेटिएको छ । कान्तिपुरबाट