• भाजपाले ६ गुणा बढी सिट जित्दै ऐतिहासिक पुनरागमन गरेको छ ।
    • केजरीवालको नयाँ दिल्ली क्षेत्रका २० उम्मेदवारले जमानत जफत गरे।
    • कांग्रेसको भोट प्रतिशत २% ले बढे पनि सिट जित्न असफल।
    • यो चुनावले दिल्लीको राजनीतिक समीकरणमा ऐतिहासिक परिवर्तन ल्याउँदै भाजपालाई सशक्त बनाएको छ ।

    एजेन्सी — दिल्लीको राजनीति २७ वर्षपछि नयाँ मोडमा पुगेको छ, जहाँ भारतीय जनता पार्टी (भाजपा) पुनः सत्तामा फर्किने तयारीमा छ। निर्वाचन आयोगका अनुसार भाजपाले १३ सिट जितिसकेको छ र ३४ सिटमा अग्रता लिइरहेको छ। यसरी कुल ४७ सिटमा भाजपाले विजय हासिल गर्ने आँकलन गरिएको छ।

    आम आदमी पार्टी (आप) ले ११ सिट जितेर १२ सिटमा अग्रता कायम राखेको छ, जसअनुसार कुल २३ सिटमा सीमित हुने देखिन्छ। कांग्रेस भने यस पटक पनि खाता खोल्न असफल रहेको छ ।

    आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाल आफ्नै निर्वाचन क्षेत्र नयाँ दिल्ली मा पराजित भए। उपमुख्यमन्त्री मनीष सिसोदिया जंगपुराबाट हार बेहोरे भने सत्येन्द्र जैन पनि पराजित भए। यद्यपि, मुख्यमन्त्री पदका उम्मेदवार आतिशीले कालकाजी सिटबाट जित निकालेकी छिन्।

    आफ्नो हार स्वीकार गर्दै अरविन्द केजरीवालले भाजपालाई बधाई दिएका छन्। उनले भने, “हामी जनताको निर्णयलाई सम्मान गर्छौं। आशा छ कि भाजपा जनताको अपेक्षा पूरा गर्न सक्षम हुनेछ।” उनले शिक्षा, पानी, र बिजुलीमा आफ्नो सरकारले गरेका कामको चर्चा गर्दै रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    दिल्ली भाजपा मुख्यालयमा भव्य विजय उत्सव मनाइएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी साँझ कार्यकर्ताहरूसँग सम्बोधन गर्न पार्टी मुख्यालयमा उपस्थित हुने बुझिएको छ । यसैबीच, केजरीवाललाई पराजित गर्ने भाजपा उम्मेदवार प्रवेश वर्माले अमित शाहसँग भेट गरेका छन्।