खोटाङ—खोटाङ प्रादेशिक गाउँपालिका-३, लामीडाँडा चिउरीबासका विद्यार्थी नेता मिलन राईको स्मृतिमा आइतबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ। २०७३ माघ २५ गते भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनाका कारण निधन भएका राईको आठौं स्मृति दिवसको अवसरमा नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य तथा संविधानसभा सदस्य विशाल भट्टराईले प्रतिमा अनावरण गरेका छन् ।

राई नेकपा एमाले निकट अनेरास्ववियुका तत्कालीन केन्द्रीय सदस्य तथा खोटाङ र सोलुखुम्बु जिल्ला इन्चार्जको रूपमा कार्यरत थिए। उनी सांगठनिक कामका सिलसिलामा काठमाडौँबाट दिक्तेलतर्फ जाँदै गर्दा भक्तपुरमा भएको दुर्घटनामा गम्भीर घाइते भएका थिए। बाइक सडकको डिभाइडरमा ठोक्किँदा उनी गम्भीर घाइते भए। तीन दिनसम्म ट्रमा सेन्टरमा उपचारपछि २०७३ माघ २७ गते उनको निधन भएको थियो ।

मिलन राईको सम्झनामा उनको समाधिस्थलमा "मिलन राई स्मृति पार्क" निर्माण गरिएको छ। पार्क नजिकै स्मृति प्रतिष्ठानको भवन पनि निर्माण गरिएको छ। प्रतिष्ठानले उनको योगदानलाई जिवित राख्न र भावी पुस्तालाई प्रेरणा दिन काम गर्दै आएको छ।

स्मृति दिवसको अवसरमा जयराम राईको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधानसभा सदस्य विशाल भट्टराई, एमाले प्रदेश कमिटी सदस्य देवन राई, नेता सममर भुजेल, बिरेन्द्र मगर, बाबुराम जोशी, स्व. राईका बुवा जयबहादुर राई, र अन्य नेताहरूको उपस्थिति थियो।

यो स्मृति पार्क र प्रतिष्ठानले विद्यार्थी नेता मिलन राईको योगदानलाई सम्मान प्रदान गर्नुका साथै समाजमा प्रेरणा र उदाहरण प्रस्तुत गर्ने लक्ष्य राखेको एमाले कोशी प्रदेश कमिटीका सदस्य प्रभातविक्रम कटवालले व्यक्त गरे।

476844144_28329903746656056_614458040308026381_n