बेलबारी—मोरङको बेलबारी नगरपालिकाको कार्यपालिका बैठकले प्रशासन प्रमुख महेन्द्र खडका विरुद्ध कारबाही गर्ने निर्णय गरेपछि उपप्रमुख नितु थापा (कोइराला) ले असन्तुष्टि व्यक्त गरेकी छन्। उनले आफू बिरामी भएको जानकारी गराइसकेपछि पनि ढाँटेर बैठक आयोजना गरी एजेन्डा बिना नै कारबाहीको निर्णय गरिएको भन्दै आफ्नो सहमति नरहेको बताएकी छिन्।
थापाले खडका विरुद्धको निर्णयका लागि कुनै स्पष्ट एजेन्डा नभएको र आफ्नो अनुपस्थितिमा यस्तो निर्णय लिनु दुःखद भएको उल्लेख गरिन्। उनले खडकाले नगरपालिकाको हित विपरीत के काम गरेका हुन् भन्ने विषयमा आम नगरवासीलाई स्पष्ट जानकारी दिनुपर्ने माग गरेकी छिन्।
सोमबार साँझ बसेको १२७औं कार्यपालिका बैठकले खडकालाई फागुन ५ गते नगरसभा बैठक अगाडि नगरपालिकाबाट अन्यत्र सरुवा लिने, प्रशासन प्रमुखको जिम्मेवारीबाट अलग गराउने, या कर्मचारीका रूपमा रहने तीन विकल्प दिएको थियो। यद्यपि, खडकाले नगरपालिकाको विरुद्ध कुनै काम नगरेको दाबी गरेका छन्।
बैठकमा उपप्रमुख थापासहित कार्यपालिका सदस्य सञ्चमाया लिम्बु र बेलबारी-८ का वडाध्यक्ष धनपति गौतम अनुपस्थित थिए। खडका विरुद्ध लगाइएको आरोप र कारबाहीको कारणलाई भने बैठकमा स्पष्ट गरिएको छैन भने उनलाई आफ्नो धारणा राख्ने मौका पनि दिइएको छैन ।



















