विराटनगर —  कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री रहेकी इन्दिरा थापाले प्रदेश सरकारको करिब दुई करोड बजेटबाट धनकुटामा आफ्नै घर निर्माण गरेकी छन् ।

धनकुटाको पाख्रिवास नगरपालिकामा आफ्नो परिवारको नाममा रहेको निजी जग्गामा थापाले प्रदेश सरकारको बजेटबाट घर निर्माण गरेकी हुन् ।

प्रदेश सरकार स्थापना भएदेखि नै थापाले लगातार प्रदेश सरकारको बजेट आफ्नो निजी जग्गामा खन्याइरहेको पाइएको छ । प्रदेश सरकारबाट २०७६ सालमा केयर वुमेन नेपाल पाख्रिबास ८ मुगाको नाममा १ करोड १० लाख बजेट विनियोजन भएको थियो । सो बजेटबाट संस्थाकी अध्यक्ष रहेकी थापाले आफ्नै निजी जग्गामा घर निर्माण सुरु गरेकी थिइन् ।

२०७७ सालमा थापाले पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पुनः केयर वुमन नेपालको भवन निर्माण गर्न ५० लाख रुपैयाँ बजेट लगेको पाइएको छ । त्यति मात्रै हैन, सो योजनामा प्रदेश सरकारले गत आर्थिक वर्षमा १० लाख र चालु आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरेको पाइएको छ ।

  • यो भिडियो पनि हेर्नुहोस — कवाडीका सामानबाट मोरङका १५ वर्षे वालकले बनाए इलेक्ट्रिक बाइक

निजी जग्गामा भवन निर्माण गर्न प्रदेश सरकारले पटक–पटक के आधारमा बजेट बिनियोजन गर्यो र त्यो बजेट कसरी कार्यान्वयन भयो भन्ने गम्भीर प्रश्न खडा भएको छ । सरकारीको सहयोगबाट संघसंस्थाका भवन बनाउन बजेट बिनियोजन हुने गरेको भएपनि जग्गा संस्थाकै नाममा हुनुपर्ने कानुनी व्यवस्था छ । तर, थापाको निजी जग्गामा सरकारले करिब २ करोड बजेट बिनियोजन गरेर भवन बनाएको छ ।

राज्यमन्त्री थापाकी आमा दुर्गादेवि थापाको नाममा रहेको सो जग्गामा भवन निर्माण भइसकेको छ । दाजुहरु विदेशमा बस्ने भएकोले सो जग्गाको भोगचलन राज्यमन्त्री थापाले नै गर्दै आएकी छन् । सो जग्गासँग केहि ऐलानी जग्गा पनि रहेको स्थानीयले बताएका छन् । जग्गामा भवन निर्माणको लागि नक्सापास पनि भएको छैन ।

निजी जग्गामा भवन बनाउन २०७७ सालमा थापाले प्रदेश सरकारमा तीन वटा शीर्षकमा बजेट प्रस्ताव गरेको भएपनि अन्तिम अवस्थामा अर्थ मन्त्रालयका कर्मचारीले थाहा पाएपछि बजेट काटिदिएका थिए । त्यसबेला मन्त्रालयमा रहेका एक कर्मचारीले भने, ‘एउटै संस्थामा घुमाईफिराई तीन शिर्षकमा बजेट राखिएको रहेछ, त्यो देखेपछि दुई वटा हटाइयो, एउटा भने राजनीतिक दबाबको कारण हटाउन सकिएन ।’

नेपाली काँग्रेसका नेता डा.शेखर कोइराला निकट मानिने थापाले राजनीतिक पहुँचको आधारमा बजेट लगेको बताइन्छ । डा.शेखरसँगको निकट सम्बन्धकै कारण कोशी प्रदेशसभा सदस्य भएकी थापा अहिले अर्थराज्यमन्त्री छन् ।

निजी जग्गामा सरकारको बजेट लगेर भवन निर्माण गरेको विषय राज्यमन्त्री थापाले पनि स्वीकार गरेकी छन् । आफ्नो आमाको नाममा रहेको जग्गा संस्थालाई पास गर्ने सहमति परिवारमा भएकोले त्यहाँ भवन बनाएको उनको दावी छ । ‘भवन बनेको घर संस्थाको नाममा नभएको सत्य हो, यो विषय पहिले पनि समाचारमा आएकै हो’ उनले भनिन्, ‘तर, आमाको नाममा रहेको उक्त जग्गाबाट एक रोपनी संस्थालाई दिने सहमति हाम्रो परिवारमा भइसकेको छ ।’

आमा दुर्गादेवि थापाको नाममा जग्गा रहेको र आमाको निधन भएकोले अब दाजुहरुसँग सल्लाह गरेर जग्गा संस्थाको नाममा पास गरिदिने सहमति गरेको उनले बताएकी छन् । ‘वैशाख २३ गते अमेरिकामा रहेका दाई आएपछि केयर वुमेनको नाममा जग्गा पास हुन्छ’ उनले भनिन्, ‘जग्गा संस्थाको नाममा पास गर्ने सहमति परिवारमा भइसकेकोले यो ठूलो विषय हैन, राम्रो काम गर्न खोज्दा मलाई सँधै अबरोध हुन्छ ।’

केयर वुमनले महिला केन्द्रित सामाजिक कार्य गर्दै आएको थापाले दावी गरेकी छन् । विभिन्न स्वास्थ्य शिविर सञ्चालनसहितका गतिबिधि गर्दै आएको उनको भनाइ छ । हाम्रो मतबाट