विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयकलाई सहमतिमै पारित गरिने बताएका छन् । बुधबार विराटनगरमा प्रेस चौतारी कोशी प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले विधेयकमाथि पर्याप्त छलफल गरेर, कमी–कमजोरी सच्याउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले अध्यादेश संवैधानिक प्रक्रिया भएको उल्लेख गर्दै अनावश्यक विवाद र विरोध नगर्न सबैलाई आग्रह गरे ।

उनले भने :"सरकारले ल्याउने विधेयकका विषयमा अनावश्यक बखेडा झिक्न खोजिएको छ। अध्यादेश सदनबाट पारित नभए खारेज हुने भए पनि संवैधानिक रूपमा अध्यादेश ल्याउन रोकतोक छैन।"

अघिल्ला सरकारहरूद्वारा पनि अध्यादेश ल्याउने प्रक्रिया अपनाइएको उल्लेख गर्दै उनले आगामी दिनमा सकारात्मक सोचसहित विधेयकको विषयमा अघि बढ्न दलका नेताहरुलाई आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारले थालिएका योजनाबारे जानकारी गराए। जसमा २९ वटा पालिकालाई जोड्ने गरी चारवटा पदमार्ग निर्माण, दातृ निकायसँग सहकार्य गर्दै पर्यटन विकासका लागि विशेष प्रयास, पछिल्लो समयमा विकास निर्माणका गतिविधिहरूमा तीव्रता आएको दाबी गरे ।

मुख्यमन्त्रीले नयाँ सत्ता समीकरण बनेपछि सकारात्मक परिवर्तनहरू देखिन थालेको र विकास निर्माण तथा प्रशासनिक सुधारका क्षेत्रमा विशेष ध्यान दिइने बताए।

प्रादेशिक आम सञ्चार विधेयकको पारित प्रक्रिया, पर्यटन प्रवर्द्धन, र विकास निर्माणका गतिविधिमा सरकारले देखाएको प्रतिबद्धताले कोशी प्रदेशमा समृद्धिको बाटो खुल्ने अपेक्षा गरिएको छ।

यो पनि पढ्नुहोस - प्रेस चौतारी नेपालको कोशी प्रदेशमा नयाँ नेतृत्व चयन,अध्यक्षमा सुमन पुरी