विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकामा सुरु भएको सुन्दरहरैँचा विराट एक्स्पो ४ को पहिलो दिनमै उल्लेखनीय रुपमा सफल भएको छ। बुधबारदेखि सुरु भएको यो एक्स्पोको पहिलो दिनमा ५ हजारभन्दा बढी दर्शकको उपस्थिति रहेको जानकारी एक्स्पोका सूचना तथा प्रचार विभागका संयोजक कृष्ण ओझाले दिएका छन्।
पहिलो दिनका मुख्य आकर्षण हास्यकलाकार मनोज गजुरेल र गायक दुर्गेश थापाको प्रस्तुति रहे। दुवैको प्रस्तुतिले दर्शकलाई भरपूर मनोरञ्जन दिएको थियो। कार्यक्रम हेर्न भित्री गाउँदेखि बजारका विभिन्न स्थानबाट दर्शकहरु गाडी रिजर्भ गरेर सहभागी भएका थिए।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा आयोजित यस एक्स्पोमा तीन लाखभन्दा बढी दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ। संघका उपाध्यक्ष डिल्लीप्रसाद ढकालका अनुसार एक्स्पोले स्थानीय अर्थतन्त्रलाई सक्रिय पार्ने सांस्कृतिक तथा व्यापारिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने र सुन्दरहरैँचामा निर्माणाधीन आधुनिक शौचालय र पुस्तकालयका लागि आर्थिक सहयोग जुटाउने लक्ष्य राखेको छ।
यो पनि पढ्नुहोस-सुन्दरहरैँचा विराट एक्स्पो ४' : कुन दिन कुन कलाकार ?
आज बिहीबार एक्स्पोको दोस्रो दिनमा चर्चित गायिका शान्ता रानी परियारको एकल प्रस्तुति हुने छ। उनका पछिल्ला लोकप्रिय गीतहरू जस्तै ‘तिमी र म जाम माया,’ ‘गोर्खे खुकुरी,’ ‘डाँडैको टुनी,’ ‘दमाई महाराज’ र भाइरल गीत ‘ढले ढले...’ ले दर्शकलाई रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।
दिवासत्रदेखि रात्रीकालीन कार्यक्रममा १० हजारभन्दा बढी दर्शक आउने अनुमान गरिएको छ। कार्यक्रमलाई सफल बनाउन आयोजकले विविध व्यवस्थापन र प्रचार–प्रसारलाई प्राथमिकता दिएका छन्।
दर्शकहरूको व्यापक सहभागिताले एक्स्पोको महत्वलाई अझ बलियो बनाउँदै गएको छ। आयोजकहरूको अनुमानअनुसार बाँकी दिनहरूमा दर्शकको संख्या थप बढ्ने र एक्स्पोले सम्पूर्ण रूपमा ऐतिहासिक सफलता हासिल गर्नेछ।




















