विराटचोक—मोरङको सुन्दरहरैँचामा जारी सुन्दरहरैँचा विराट एक्स्पो ४ लाई थप प्रभावकारी बनाउन कोरियामा रहेर कर्मथलो बनाइरहेका युवा विक्रम  साम्पाङ राईले एक महत्त्वपूर्ण सुझाव दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत महावीर पुनलाई एक्स्पोमा निमन्त्रणा गर्न आग्रह गरेका छन्।

सुन्दरहरैँचा–१० निवासी  साम्पाङले आफ्नो फेसबुक पोस्टमा भनेका छन्, “हाम्रो नगरमा भइरहेको विराट एक्स्पोमा धरानका मेयर हर्क  साम्पाङले गरे जस्तै   महावीर पुनलाई एक दिन निमन्त्रणा गरी उहाँको पुस्तक खरिद गर्न नगरवासीलाई अनुरोध गरे कसो होला?” उनले  एक्स्पो आयोजक संस्थालाई यो सुझाव मनन गर्न आग्रह गरेका छन्।

476997244_607686678647472_5905112356511731931_n (1)उनको सुझाव अनुसार महावीर पुन जस्ता व्यक्तित्वलाई निमन्त्रणा गर्दा कार्यक्रमको स्तर अझै उचाइमा पुग्ने र प्रविधि, पुस्तक, तथा नवप्रवर्तनप्रतिको चासो वृद्धि हुने विश्वास गरिएको छ।

एक्स्पोमा विभिन्न सांस्कृतिक कार्यक्रम र प्रतियोगिताहरू समावेश भए पनि यस्ता प्रेरणादायक व्यक्तित्वलाई बोलाइएको छैन भन्ने गुनासो गरेका छन्।

सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा माघ ३० गतेदेखि सुरु भएको विराट एक्स्पो फागुन १० गतेसम्म चल्नेछ। यसमा स्थानीय उत्पादनहरूको प्रदर्शन, सांस्कृतिक कार्यक्रम, तथा विभिन्न प्रतियोगिता राखिएका छन्।