• रेवती रमण निरौला
गतवर्ष सार्वजनिक आर्थिक वर्ष २०७९।०८० को कार्यसम्पादन मूल्यांकनमा जिल्लामा निकै तल १४ औँ स्थानमा रहेको लेटाङ नगरपालिकाले भर्खरै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८०।०८१ को कार्यसम्पादन मूल्यांकनमा चामत्कारिकरुपमा फड्को मार्दै जिल्लाकै दोश्रो बन्न सफल भएको हो ।

लेटाङ—लेटाङ नगरपालिका कार्यसम्पादन मूल्यांकनमा मोरङ जिल्लाका स्थानीय तहहरुमध्ये दोश्रो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले भर्खरै सार्वजनिक गरेको तथ्यांक अनुसार लेटाङ नगरपालिका ५७ दशमलव ८ अंक प्राप्त गर्दै जिल्लाकै दोश्रो बन्न सफल भएको हो।

गतवर्ष सार्वजनिक आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा जिल्लामा निकै तल १४औं स्थानमा रहेको लेटाङ नगरपालिकाले भर्खरै सार्वजनिक गरिएको आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन मूल्यांकनमा चामत्कारिकरूपमा फड्को मार्दै जिल्लाकै दोश्रो बन्न सफल भएको हो।

मोरङ जिल्लामा पहिलो भने विराटनगर महानगरपालिका बनेको छ। विराटनगरले ७३ दशमलव ५ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा, महानगरपालिका बाहेकमा भने लेटाङ नगरपालिका ५७ दशमलव ८ अंक प्राप्त गर्दै जिल्लाकै पहिलो भएको छ। तेश्रो स्थानमा भने सुन्दरहरैंचा नगरपालिका रहेको छ।

सुन्दरहरैँचाले ५५ दशमलव ६ अंक प्राप्त गर्दा चौथो स्थानमा रहेको बुढीगंगाले ५४ दशमलव ६ र पाँचौं स्थानमा रहेको केराबारी गाउँपालिकाले ५३ दशमलव ७ अंक पाएको छ। मोरङमा सबैभन्दा कम अंक पाउने धनपालथान गाउँपालिकाले ३२ दशमलव ९ अंक पाएको छ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहहरूलाई अनुदान वितरण गर्दा कार्यसम्पादनका आधारमा वितरण गर्ने व्यवस्था गरेको छ। आर्थिक व्यवस्थापन, पूर्वाधार विकास, सामाजिक सेवाहरूको प्रभावकारिता र प्रशासनिक क्षमता जस्ता कार्यसम्पादन मूल्यांकनका सूचकहरूको अंकभारका आधारमा अंक प्रदान गरिन्छ।

संघीय सरकारबाट कार्यसम्पादन मूल्यांकनमा आधारित भएर आगामी आर्थिक वर्षको बजेटमा अनुदान आउने भएकाले लेटाङ नगरपालिकालाई आगामी आर्थिक वर्षमा संघीय सरकारबाट आउने अनुदान पनि बढ्ने अपेक्षा गरिएको छ।

लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले आफू निर्वाचित भएर आएदेखि नै कार्यसम्पादन र सुशासनलाई प्राथमिकतामा राखेर काम गरेकाले सोहीअनुसारको नतिजा आएको बताउनुभयो। उहाँले चालु आर्थिक वर्षमा अझ बढी अंक प्राप्त गर्ने तरिकाले अझ व्यवस्थित रूपमा काम गरिरहेको पनि जानकारी दिनुभयो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा देशकै उत्कृष्ट स्थानीय सरकार भने डडेल्धुराको अमरगढी नगरपालिका भएको छ। १७ वटा विभिन्न सूचक राखेर १०० पूर्णाङ्कमा अमरगढीले ७५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै ८१ दशमलव ७ अंक ल्याएको छ।

अमरगढी नगरपालिकापछि इलामको सुर्योदय नगरपालिकाले ८० दशमलव २ अंक ल्याउँदै दोश्रो भएको छ। गाउँपालिकातर्फ स्याङ्जाको कालिगण्डकी गाउँपालिका र धादिङको नेत्रावती डवजोङ गाउँपालिकाले समान ७८ दशमलव २ अंक प्राप्त गरी गाउँपालिकातर्फ उत्कृष्ट भएका छन्। आयोगले हरेक वर्ष प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गर्ने गर्दछ।

FRA र LISA मा उल्लेख्य सुधार:

लेटाङ नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) मा पनि जिल्लाकै दोश्रो भएको छ। अघिल्लो आर्थिक वर्षमा स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा चौथो स्थानमा रहेको लेटाङ नगरपालिका यसवर्ष ८६ दशमलव ५ अंक प्राप्त गर्दै दोश्रो भएको हो।

यसैगरी, लेटाङ नगरपालिकाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) मा पनि उल्लेख्य सुधार गर्दै आठौं भएको छ। अघिल्लो आर्थिक वर्षमा ६८ दशमलव ५ अंकका साथ चौधौं स्थानमा रहेको लेटाङ नगरपालिका यसवर्ष ८३ दशमलव ७५ अंकका साथ आठौं स्थानमा उक्लिएको हो।