मधुमल्ला—मोरङको मिक्लाजुङमा विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार मधुमल्लामा भएको मिक्लाजुङ गाउँकमिटीद्वारा आयोजित जरा केन्द्रित अभियानको उद्घाटन कार्यक्रमको अवसर पारेर उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।
एमाले मिक्लाजुङ गाउँकमिटी सदस्य सन्तोष ढकालका अनुसार ८५ जनाले विभिन्न दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्। जसमा नेकपा माओवादीका पूर्व लडाकु कम्पनी भाइस कमाण्डर दीनेश पोख्रेल,पूर्व लडाकु निर्मला तामाङ,नेपाली कांग्रेसका कल्पना घिमिरे र हिमकुमार लावती लगायत रहेका छन् ।
नव प्रवेशीहरूलाई एमाले कोशी प्रदेश इन्चार्ज तथा पूर्व मुख्यमन्त्री शेरधन राई, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा र मोरङ जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्कीले खादा र माला लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि राईले "जरा केन्द्रित कार्यक्रम" नेकपा एमालेलाई सशक्त र सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको बताए। उनले २०८४ मा एमालेलाई पहिलो शक्ति बनाउने र समृद्ध नेपाल, सुखी नेपालीको परिकल्पना साकार पार्न सबैलाई एकजुट भएर लाग्न अपिल गरे।
विशिष्ट अतिथि एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले संगठन विस्तार, सदस्यता नवीकरण, र विभिन्न कमिटीका अधिवेशनहरू मार्फत पार्टीलाई बलियो बनाउने योजना प्रस्तुत गरे।
त्यसैगरी मदन भण्डारी फाउण्डेशन मोरङका अध्यक्ष खड्ग बहादुर बस्नेत,एमाले मिक्लाजुङ इन्चार्ज रामकृष्ण राई,गाउँकमिटी अध्यक्ष बुद्धिमान लिम्बुले पार्टीका गतिविधि र अभियानको महत्वबारे मन्तव्य दिएका थिए।
कार्यक्रमले १०औं जिल्ला अधिवेशन सम्पन्न गर्न ९ वटै वडामा निर्वाचन समिति गठन गरी जिम्मेवारी प्रदान गरेको नेकपा एमाले मिक्लाजुङका सचिव नवीन कार्कीले जानकारी गराएका थिए।
कार्यक्रममा मिक्लाजुङको टोलटोल, वडावडाहरुबाट कार्यकर्ताहरुको सक्रिय उपस्थितिले कार्यक्रमलाई उत्साहपूर्ण बनाएको थियो।
























