विराटचोक—श्रमजिवी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अध्यक्ष भीमज्वाला राई सम्मानित भएका छन् । इटहरीबाट प्रकाशित प्रदेश खबरले आफ्नो दोश्रो वार्षिकोत्सवको अवसर पारेर राईलाई सम्मान गरेका हो ।
को हुन् भीमज्वाला राई ?
भीमज्वाला राई, २०३२ सालको पुस १ गते सिरहा जिल्लाको मिर्चैया ९, घुर्मिमा जन्मिएका एक अत्यन्त प्रभावशाली व्यक्तित्व हो। धरान ८ का स्थायीवासी राई पत्रकारिता र मजदुर आन्दोलनका अगुवाका रुपमा समाजमा परिचित छन् । ज्वाला हुनु भनेको आगो जस्तै प्रज्वलित, सशक्त, र प्रेरणादायक हुनु हो। भीमज्वालालाई यस दृष्टिमा हेर्दा, उनी श्रमिक वर्गका लागि साच्चैको ज्वाला छन्, जसले सधैं मजदुरहरूको अधिकारका लागि लडाइँ लडिरहेका छन् ।
प्रारम्भिक जीवन र शिक्षा
भीमज्वाला राईका बुवा स्व. मदनमोहन राई र आमा सनमाया राई हुन्। उनका एकमात्र छोरी, सुप्रिया राई र श्रीमती चन्द्रकला लावती राईसँगको जीवनले उनलाई सामाजिक दायित्व र परिवारको मूल्य प्रति संवदेनशील बनाएको छ। उनले कानुन विषयमा स्नातक (बिएल) र आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर (एम ए) गरेका छन् ।
पेशागत यात्रा
साल २०५२ देखि उनले यातायात मजदुरीको रूपमा धरान काकडभिट्टा रुटमा १ ख १८३ नम्बरको बसमा परिचालकको रूपमा कार्य थालेका थिए। २०५३ सालदेखि पत्रकारिता क्षेत्रमा प्रवेश गरेका हुन् । उनलाई असहाय श्रमजीवी श्रमिकमाथि भइरहेका शोषण र सामाजिक विभेदप्रतिको संवेदनाले प्रेरित गरेपछि मिडियाको माध्यमबाट श्रमजीवी जनताको आवाज बोल्नका लागि गाडीमा काम गर्दागर्दै उनी पत्रकारीतामा प्रवेश गरेका थिए ।
पढाइमा निकै लगाव राख्ने राई समाजमा केही गर्नु पर्छ । राज्यलाई केही न केही योगदान दिनु पर्छ भन्ने सोँचबाट माथि उठेर काम गर्दथे । गाडीमा काम गर्दा उनका हातमा जहित्यैं एउटा पुस्तक हुने गर्दथ्यो। उनको समर्पण, लगनशिलता, आत्मविश्वस र मजदुर वर्गको आवाज बोकेर समाजमा स्थापित राईलाई धरान उपमहानगरको नेतृत्व गर्नसक्ने व्यक्तिका रूपमा सबैले आशाका रूपमा हेर्ने गरेकाछन् ।
पत्रकारिता र श्रमजीवी आन्दोलन
भीमज्वाला राईले श्रमजीवी पत्रकारको आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनी प्रधान सम्पादकको रूपमा औजार दैनिक, सह सम्पादकको रूपमा ब्लास्ट टाइम्स दैनिक, हेल्थ मासिक, अन्तरक्रिया मासिक, र ब्लास्ट टुडेमा काम गरेर पत्रकारिता मार्फत योगदान गरेका छन् ।
ब्लाष्ट दैनिकको अनुभवबाट पत्रकारितामा खारिएका उनी एउटा कुसल पत्रकारको रुपमा पनि स्थापित भए । प्रेस चौतारी नेपालको सुनसरीको अध्यक्ष र पूर्वाञ्चल क्षेत्रीय सचिवका रूपमा पनि उनले काम गरे । उनले प्रगतिशिल लेखक संघ सदस्य र लोकतान्त्रिक स्रष्टाहरुको संयुक्त मञ्चका सदस्यको रूपमा पनि कार्य गरे ।
राई एक प्रख्यात श्रमिक वर्गको आन्दोलनबाट उदाएका कुशल नेतार र अग्रज पत्रकार हुन्, जसले नेपाली समाजमा श्रमजीवीको हक र अधिकारको लागि निरन्तर आवाज उठाउँदै आएका छन्। उनको जीवनको एक महत्वपूर्ण पक्ष भनेको राजनीति, मजदुर आन्दोलन र साहित्यको संयोजन हो। उनले तीन दशकभन्दा बढी समयदेखि श्रमिकको हक र हितका लागि संघर्ष गदैं आएका छन् । उनका कार्यहरूले नेपालमा मजदुरहरुको मु्क्तिका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ।
सामाजिक असमानता र श्रमजीवीको शोषणको अन्त्यका लागि संलग्न हुँदा राईले मजदुरहरूको पीडा र संघर्षलाई आफ्नो पत्रकारिता र राजनीतिक क्रियाकलापमा प्राथमिकता दिएका छन्। उनलाई त्यतिबेला प्रेरणा मिल्यो जब उनले असहाय श्रमजीवी श्रमिकहरूको समस्याबारे तीन दशकअघि सामना गरे । उनले महसुस गरे कि श्रमिकहरूका अधिकांश मुद्दाहरू समाजमा उपेक्षित छन्, र सञ्चारमार्फत यी समस्याहरू उजागर गर्नुको साथसाथै नीति निर्माणमा योगदान पुर्याउनु आवश्यक छ।
राजनीतिक संलग्नता
भीमज्वाला राईले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको केन्द्रीय कमिटीको अध्यक्षको जिम्मेवारी लिइरहेका छन । उनको नेतृत्वमा संगठनले मजदुरहरूको हकमा सुधार र संधारणका लागि थुप्रै पहलहरू गर्न सफल भएको छ। उनले विभिन्न प्रकारका श्रमसम्बन्धी समस्याहरूको समाधानका लागि निरन्तर क्रियाशील छन्। कम्युनिष्ट विचारलाई आत्मसाथ गरेका उनी हाल नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य प्रचार विभागको उप प्रमुख हुन् ।
ट्रेड युनियन आन्दोलनमा योगदान
भीमज्वाला राईले तीन दशकभन्दा बढी समयदेखि श्रमिक आन्दोलनमा निरन्तर क्रियाशील छन् । उनी जिफन्ट राष्ट्रिय कमिटीका सदस्य समेत हुन् । एउटा गाडीको सामान्य मजदुरबाट उदाएका राई यति बेला राष्ट्रिय राजनीतिमा दुरगामी प्रभाव पार्ने व्यक्तित्वको रुपमा स्थापित हुदैं गएका छन् । संघर्षबाट माथि उठेका राई सत्य न्याय, सच्चाइका लागि वकालत गर्छन । समस्यामा परेकाहरुलाई मलम पट्टी लगाउन पाउदा आनन्द मान्छन् । अरुका समस्यामा उनी घण्टौ आफ्नो आवाज मुखारित गर्छन् ।
सम्मान र पुरस्कार
उनलई विभिन्न संघसंस्थाहरुबाट सम्मान पनि गरिएको छ । प्रमुख सम्मानमा यूवा प्रतिभा सम्मान, लालीगुंरास क्लव धरान, मनोक्रान्ति बालविकास केन्द्र, र अन्य संघसंस्थाहरूबाट प्राप्त पुरस्कार र सम्मानहरू समावेश छन्।
विदेश भ्रमण
भीमज्वाला राईको विदेश भ्रमणको अनुभव सिंगापुर, फिलिपिन्स, थाईल्याण्ड, ईण्डोनेसिया, कम्बोडिया, बंगलादेश, मलेसिया, श्रीलंका र भारतमा रहेको छ, जसले अन्तर्राष्ट्रिय दृष्टिकोण पनि प्रदान गरेको छ।
निष्कर्ष
भीमज्वाला राईले आफूलाई श्रमजीवी र सामाजिक कार्यकर्ता र पत्रकारहरूको अगुवाका रूपमा स्थापित गरेका छन् । उनका अनुभव र योगदानहरूले नेपालका श्रमिकहरूको अधिकार र हकको पक्षमा महत्त्वपूर्ण भूमिका खेलेको छ । उनको जीवन र कार्यले आगामी पिढीलाई प्रेरणाका लागि एक रोलमेडेल बनेका छन् ।
राईले भविष्यमा पनि श्रमिकहरूको हक र अधिकारको लागि संघर्ष जारी राख्ने दृढ संकल्प व्यक्त गरेका छन्। उनका अनुसार, नेपालको राजनीतिक परिदृश्यमा श्रमजीवीहरूको स्थिति सुदृढ गर्नका लागि सामाजिक न्याय र समानता आवश्यक छ।
राईको जीवन र क्रियाकलापहरूले नेपाली मजदुरको अधिकारको आवाजलाई बलियो बनाउनुका साथै समग्र रूपमा नेपाली समाजलाई एकजुट बनाउने कार्यमा ठूलो योगदान पुर्याएको छ । उनको विचारधारा र नेतृत्वले नयाँ पुस्तालाई प्रेरित गर्नेछ र उज्वल भविष्यको दिशामा अघि बढ्नका लागि मार्गप्रदर्शन गर्नेछ।





















