काठमाडौँ—प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवन खुला र पारदर्शी रहेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आर्थिक कारोबारसँग जोडेर आफूविरुद्ध भ्रम फैलाउने प्रयासको खण्डन गरे।
प्रधानमन्त्री ओलीले स्वीट्जरल्यान्डको बैंकमा पैसा राखेको आरोपलाई ब्याङगे गर्दै भने, ‘मलाई किन त्यत्रो सम्पत्ति चाहियो? दुई वटा रोटी र अलिकति दाल खाने हो। मैले सम्पत्ति लुकाउनुपर्ने कुनै कारण छैन।’
प्रधानमन्त्री ओलीले भने- ‘मेरो जीवन सबै खुला र पारदर्शी छ । यस्ता अनेक हल्ला चलाउने र भ्रम फिँजाउने तथा दुर्वाच्य बोल्ने हाम्रो सभ्यता होइन,’।'
ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको उनले सुशासनबाट मात्रै मुलुकलाई समृद्धितिर लैजान सकिने भन्दै छिटो छरितो रूपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको बताए ।
प्रधानमन्त्री ओलीले व्यवसायको क्षेत्रका साथै नेपाल चेम्बर अफ कमर्शको संस्थागत विकासमा योगदान दिएका व्यक्तित्व श्रेष्ठको व्यक्तित्व र कृतित्वले नयाँ पुस्ताका लागि प्रेरणादायी हुने धारणा राखे ।
प्रधानमन्त्री ओलीले व्यवसायिक क्षेत्र र नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा राजेशकाजी श्रेष्ठले पुर्याएको योगदानलाई महत्त्वपूर्ण ठहर गर्दै नयाँ पुस्ताले त्यसबाट प्रेरणा लिनुपर्ने बताए।
कार्यक्रममा विभिन्न राजनीतिक, व्यावसायिक र सामाजिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।




















