मोरङमा — झापाको केचनकवलबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को हुलाकी राजमार्ग केन्द्रित तराई-मधेश जागरण अभियान आज मोरङमा पुगेको छ। मंगलबार एउटा जनसभा कानेपोखरी-६ को रमाइलो बजारमा आयोजना गरिएको छ ।
कानेपोखरी-६ स्थित रमाइलो बजारमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म बृहत जनसभा आयोजना गरिने भएकाले आसपासका दुई निजी विद्यालय, पर्ल एकेडेमी र जेनिथ इङ्लिस स्कुलले बिदा दिएका छन्। ध्वनि प्रदूषणका कारण पढाइ प्रभावित हुने भएपछि विद्यालयले बिदा दिने निर्णय गरेका हुन् ।
माओवादीले बालजगत इङ्लिस बोर्डिङ स्कुल, पल एकेडेमी, माउण्ट हर्मोन एकेडेमी, र जेनिथ इङ्लिस स्कुललाई पत्र पठाउँदै कार्यक्रमका लागि विद्यालय बिदा दिन आग्रह गरेको थियो। पत्रमा जनसभाको समयमा सवारीसाधनको चाप र उच्च ध्वनि प्रदूषणले विद्यार्थीमा असर पर्ने उल्लेख थियो।
माओवादीको अभियानअन्तर्गत मंगलबार दिउँसो १ बजेदेखि ३ बजेसम्म हुलाकी मार्गको आमबाडीमा सभा हुनेछ। त्यसपछि साढे ३ बजेदेखि कर्सिया बजारमा जनसभा आयोजना हुनेछ। कर्सियाको कार्यक्रमपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका नेताहरू दादरबेरीयामा बास बस्नेछन्। बुधबार विराटनगरमा विभिन्न भेटघाट कार्यक्रमहरू हुनेछन्।


















