दोहा — लामो समयदेखि कतारको दोहामा रहेर निरन्तर सामाजिक कार्यमा सक्रिय चानख पोख्रेल सम्मानित भएका छन् । मोरङ सुनसरी सेवा समाज कतारको २५औं स्थापना दिवसको अवसरमा सम्मान गरिएको हो ।  पोख्रेल नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव हुन ।

सन २००१ मा स्थापित यस संस्थाका संस्थापक महासचिव पोख्रेललाई दोसल्लासहित मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । 

संस्थाले पोख्रेलको प्रारम्भिक योगदानदेखि अहिलेसम्म संस्थाको विकास र विस्तारमा गरेको भूमिकाको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरिएको जनाएको छ।

समारोहमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, समाजसेवी कमलमणि गुरागाई, सागर नेपाल, एनआरएनए कतार अध्यक्ष रमेश भट्ट, अध्यक्ष भिम बराइलीसहित कोशी प्रदेशका विभिन्न जिल्लाका नेताहरूको उपस्थिति थियो।

कार्यक्रममा आफ्नो धारणा राख्दै पोख्रेलले आफूलाई सम्मानित गरेर संस्थाले थप जिम्मेवारीबोध गराएको बताए । उनले भने, “जुन समय दोहामा नेपाली दूतावास थिएन, त्यो बेला श्रमिकका हक, हित र अधिकारका लागि यो संस्था स्थापना गरिएको थियो। आजसम्म पनि संस्थाले सामाजिक र आर्थिक क्षेत्रका कामहरूलाई निरन्तरता दिँदै आएको छ। यो सम्मानले मलाई थप हौसला प्रदान गरेको छ।”

पोख्रेलले “मोरङ सुनसरी सेवा समाज कतार” को सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्दै, आफ्नो समयले साथ दिएसम्म सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सोही अवसरमा राजदूत पौडेलसहित अन्य वक्ताहरूले प्रवासी नेपालीका समस्या समाधानमा ध्यान केन्द्रित गर्दै कतारमा रहेका श्रमिकहरूको हितका लागि अभियान चलाउन आवश्यक रहेकोमा जोड दिए।

समारोहले मोरङ सुनसरी सेवा समाज कतारको योगदानलाई मात्र होइन, प्रवासी नेपाली समुदायका अग्रणी व्यक्तित्वहरूको सक्रियतालाई पनि उजागर गरेको छ।