कर्नाटक—भारतको कर्नाटक राज्यको मैसूरबाट एउटा अचम्मको घटना सार्वजनिक भएको छ, जहाँ श्रीमतीको 'हत्या'को आरोपमा श्रीमान जेलमा छन्, तर चार वर्षपछि ती श्रीमतीलाई आफ्नै प्रेमीसँग होटलमा रमाइरहेको अवस्थामा देखिएको छ।
चार वर्षअघि सुरेश नामक व्यक्तिको श्रीमती कुरुबारा मल्लिगे अचानक हराइन्। परिवारले मल्लिगे हराएको रिपोर्ट प्रहरीमा दर्ता गरेपछि खोजी कार्य सुरु भयो। केही समयपछि एक अज्ञात महिलाको कंकाल फेला पर्यो र त्यसलाई मल्लिगे भएको ठानी सुरेशमाथि हत्या आरोप लाग्यो।
परिवारको पुष्टि र प्रहरीको दबाबका आधारमा सुरेशलाई पक्राउ गरी जेल पठाइयो। अदालतमा पनि उनीविरुद्ध मुद्दा चलिरहेको थियो।
हालै जेलमा रहेका सुरेशका एक साथीले यात्रा क्रममा मल्लिगेलाई प्रेमीसँग होटलमा देखे। उनले तुरुन्तै फोटो खिचे, भिडियो बनाए र सामाजिक सञ्जालमा सेयर गरे। तस्वीर र भिडियो सार्वजनिक भएपछि घटना सामाजिक र मिडिया प्लेटफर्ममा भाइरल बन्यो।
खोजीकार्य गरेपछि भेटिएकी मल्लिगेले भनिन् कि उनी नै सुरेशकी पत्नी हुन् र उनीहरू १८ वर्षसम्म सँगै बसेका थिए। विवाहबाट दुई सन्तान पनि छन्। तर हाल उनी कोडगु जिल्लामा गणेश नामका व्यक्तिसँग नयाँ जीवन बिताइरहेकी छिन्।



















