झापा— नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इञ्चार्ज शेरधन राईले एमाले सरकारमा हुँदा पनि सडकमा जानुको कारण प्रष्ट्याएका छन्। दमकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले लोकतन्त्र र गणतन्त्र जनताको मुद्धा भएकाले एमालेले सडकमा उत्रनु परेको बताएका छन्।
उनले भने, “लोकतन्त्र र गणतन्त्र सत्ताको मात्र विषय होइन। यो जनताको मुद्धा हो। संविधानको रक्षा र जनताको बलिदानीबाट प्राप्त उपलब्धिहरूलाई बचाउन जनसभा आवश्यक छ। यसले सरकारको कामसँग प्रत्यक्ष सम्बन्ध राख्दैन। यो जनताको सवाल हो, र जनताको सवाल नै एमालेको सवाल हो। त्यसैले हामी सडकमा आएका हौं।”
राईका अनुसार, संविधान, लोकतन्त्र, र राष्ट्रहित जस्ता मूलभूत मुद्धाहरूको रक्षाका लागि सडक संघर्ष महत्वपूर्ण छ। उनले एमाले जनताको आवाज बोकेर हिँड्ने पार्टी भएकाले चैत ३० मा दमकमा आयोजना गर्न लागिएको जनसभा त्यही उद्देश्यको अभिव्यक्ति भएको बताए।दमक–७ स्थित पशुहाटमा आयोजना गरिने जनसभामा एमालेले १ लाख जनता उतार्ने तयारी गरेको छ। कोशी प्रदेश स्तरीय जनसभाको आवश्यक तयारी अन्तिम चरणमा पुगेको मुल स्टेरिङ कमिटीका संयोजक रहेका राईले जानकारी दिए ।
राईले जनसभाका लागि प्रचार-प्रसार अन्तर्गत चैत २९ मा मोटरसाइकल र्याली आयोजना गरिने जानकारी दिए। उक्त र्याली दमकबाट सुरु भई बाह्रघरे, स्कुल चौन, गौरीगञ्ज, गौरादह हुँदै पाँडाजुँगीमा समापन हुनेछ।
उनले सबै झापावासीलाई जनसभामा सहभागी हुन आह्वान गर्दै भने, “एमालेले लोकतन्त्र र जनताको मुद्धालाई प्राथमिकतामा राखेर काम गर्नेछ। यो कार्यक्रम कुनै व्यक्तिको मात्र नभएर सम्पूर्ण जनताको साझा मुद्धा हो।”
सभालाई पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।




















