काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । उहाँहरू बिच अराजकता नियन्त्रण र सरकार सञ्चालनका विषयमा केन्द्रित रहेर छलफल भएकाे छ । प्रधानमन्त्रीको सचिवालय बालुवाटारले यसलाई नियमित छलफल भनेको छ ।
उहाँहरू बिच करिब एक घण्टा छलफल भएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै सत्ता परिवर्तन हुने अभिव्यक्ति दिइरहेका बेला सत्तारुढ दलका दुई प्रमुख नेता बिच छलफल भएको हो । भेटवार्तामा प्रचण्डले समय सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अराजकता मच्चाउने योजना र सत्ता मोहको छटपटी देखिएको दुई नेताले निष्कर्ष निकाल्नु भएको छ ।
उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले कांग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेका बेला ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गर्नुभएको हो ।
संयन्त्रको बैठक केही दिनभित्रै डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताउनुभएको छ । संयन्त्रको संयोजकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्छ ।




















