कपिलवस्तु— कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीमाथि गएराति मध्यरातमा गोली प्रहार भएको छ। घटना चौधरीको स्थानीय पकडीस्थित निजी निवासमा भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब ११:४५ बजे शौचालय गएर फर्किने क्रममा अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको थियो। उनी निवासभित्रै हुँदा केही दूरीबाट गोली चलाइएको बताइएको छ। घटना लगत्तै गोली प्रहार गर्नेहरू भागेका थिए।

सौभाग्यवश, अध्यक्ष चौधरीलाई कुनै चोटपटक लागेको छैन। घटनापछि प्रहरीले घटनास्थलको अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार गोली प्रहारमा संलग्न व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।