काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिएका छन्। उनले लामिछानेलाई "पटके" को संज्ञा दिँदै पार्टी र वैकल्पिक राजनीतिको अभियानलाई निरन्तर प्रभावित पारिरहेको आरोप लगाएका छन्।
ढकालले लेखेका छन्, "रवि दाइको मुद्दाको फैसला, आदेश लगायत १८-२० वटा अदालतबाट हुन्छ। कुनै अदालतबाट छुट्न सक्छन्, कुनैबाट पक्राउ पनि पर्न सक्छन्। यिनी जेलबाट आऊ-जाऊ भइरहने अवस्थामा छन्, जसलाई चलनचल्तीको भाषामा 'पटके' भनिन्छ।"
उनले रवि लामिछानेको यस "पटके" अवस्थाले न त पार्टीलाई भित्रबाट कसैले सक्षम नेतृत्व गर्न सक्ने अवस्था बनाएको छ, न त वैकल्पिक राजनीतिको अभियानलाई अघि बढाउन सकिएको भन्दै गम्भीर आलोचना गरे।
ढकालले लामिछानेको आन्तरिक र बाह्य भूमिकाका कारण पार्टीभित्रको नेतृत्व व्यवस्थापन र वैकल्पिक राजनीति दुवै दिशाहीन भएको दाबी गरे।
उनका अनुसार, "रवि दाइलाई नबिर्सी न रास्वपा अघि बढ्न सक्छ, न वैकल्पिक राजनीतिको अभियान।"
उनले थपे, "यस्तो अवस्थामा अन्ततः नेपाली कांग्रेस, एमाले, र माओवादी केन्द्रजस्ता पुराना दलहरूकै विजय हुने सम्भावना छ।"
ढकालले आफ्नो अभिव्यक्ति तीतो लाग्न सक्ने तर सत्य यही रहेको बताउँदै रवि लामिछानेको क्रियाकलापले वैकल्पिक राजनीतिको अभियानलाई नै अवरोध पुर्याएको निष्कर्ष निकाले।
रास्वपाको आन्तरिक कलह र सभापति रवि लामिछानेको मुद्दाका कारण पार्टीभित्र राजनीतिक अस्थिरता बढ्दै गएको देखिन्छ।



















