काठमाडौं— पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा कार गहिरो खोलाको खोंचमा खस्दा एउटै परिवारका आठ जनाको मृत्यु भएको छ।
दुर्घटना कोहिस्तान जिल्लामा रहेको काराकोरम राजमार्गको छेउमा बिहीबार साँझ भएको सरकारी उद्धार टोलीका एक अधिकारीले बताएका छन्। उनका अनुसार, “गाडीले नियन्त्रण गुमाएर खोंचमा खस्यो, जसका कारण चार बालबालिकासहित आठै जनाको मृत्यु भएको छ।”
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीले जनाएका छन्। उद्धारकर्मी र राजमार्ग गस्ती प्रहरी घटनास्थलमा पुगेर शवलाई नजिकैको अस्पतालमा लगेका छन्।
पाकिस्तानको पहाडी उत्तरी क्षेत्रहरूमा सडकको खराब अवस्था र तीव्र गतिका कारण यस्ता दुर्घटनाहरू बारम्बार हुने गरेका छन्।



















