काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्रीले सत्य, न्याय, र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने सम्पूर्ण सञ्चारकर्मी, मिडिया संस्थाहरू, तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास राख्ने प्रत्येक चेतनशील नागरिकप्रति सम्मानसहित शुभकामना व्यक्त गरेका हुन्।

‘‘स्वतन्त्र प्रेस’ शब्द मात्र होइन, यो लोकतन्त्रको आत्मा हो। जहाँ सत्य बोल्ने अधिकार हुन्छ, त्यहाँ जनता सबल हुन्छन्। कलम बन्दुकभन्दा बलियो हुन्छ,’’ प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा लेखेका छन्। उनले थपे, ‘‘आवाजहरू नथुनिऊन्, कलमहरू नथाकून्, र खबरहरू तथ्यको उज्यालो मार्गमा हिँडिरहून्।’’

विश्व प्रेस स्वतन्त्रता दिवसको पृष्ठभूमि

प्रेस स्वतन्त्रताको महत्त्वलाई उजागर गर्दै विश्वभर आज यो दिवस मनाइँदैछ। सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो। सोही घोषणाको आधारमा सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि हरेक वर्ष मे ३ मा यो दिवस मनाइने परम्परा सुरु भएको हो।

विश्व प्रेस स्वतन्त्रता दिवसले सञ्चार माध्यमहरूको स्वतन्त्रता, पत्रकारहरूको अधिकार, र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा बल पुर्‍याउने लक्ष्य लिएको छ।