धनकुटा – धरानबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। धनकुटा–६, गोठगाउँमा सोमबार बिहान भएको दुर्घटनामा थप दुईजनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय बस चालक रुद्र तामाङ र भोजपुरको षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा क्रमशः सोमबार बेलुका र मंगलबार बिहान मृत्यु भएको हो।

यसअघि धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको सोमबारै जिल्ला अस्पतालमा मृत्यु भएको थियो।

सोमबार बिहान को १ ख २१७७ नम्बरको बस अनियन्त्रित भई गोठगाउँको भीरमा खसेको थियो। दुर्घटनामा ११ जना घाइते भएका छन्।

घाइतेहरूको उपचार जिल्ला अस्पताल धनकुटा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ओमप्रकाश खनालले बस अनियन्त्रित हुनका कारण र दुर्घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्।