मकवानपुर— मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सीमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर गाडी बेपत्ता भएको स्थानको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली पुगेको छ। जमिन भासिएको पाँचौं दिनमा भूगर्भविद नारायण अधिकारीको नेतृत्वमा चार सदस्यीय टोलीले घटनास्थलमा अनुसन्धान थालेको हो।

भूगर्भविद नारायण अधिकारीले अध्ययन घटनास्थलको भू-बनोट, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायतका विषयमा केन्द्रित हुने बताएका छन्। टोलीले प्रोटोन म्याग्नेटो मिटरको प्रयोग गरी चुम्बकीय क्षेत्र र अन्य पदार्थको अवस्थाबारे तथ्याङ्क संकलन गर्ने योजना बनाएको छ।

गत शुक्रबार दिउँसो ना ४ च ४८३३ नम्बरको सिंगल क्याब बोलेरो पिकअप गाडी गुड्दागुड्दै अचानक जमिन भासिएर बेपत्ता भएको थियो। गाडीका धनी हरिराम राईका अनुसार गाडी जमिनमुनि हराएको छ, र उक्त स्थानमा अहिले ठूलो खाल्डो परेको छ, जुन धमिलो पानीले भरिएको छ।

गाडी भासिएको घटना सार्वजनिक भएपछि स्थानीय प्रशासनले दुई दिनसम्म कुनै विशेष कदम चाल्न सकेन। तेस्रो दिनमा हेटौंडा उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठक बसेपछि भूगर्भविदको सहयोग लिने निर्णय भएको थियो।

भूगर्भविदको टोलीले घटनास्थलको प्रारम्भिक अनुगमन सकेर विस्तृत अध्ययन थालेको छ। टोलीले माटोको बनावट, पानीको स्तर र चुम्बकीय क्षेत्रका आधारमा जमिन भासिनुको कारण पत्ता लगाउने प्रयास गर्दैछ।

गाडी भासिएको घटना असामान्य मानिएको छ। बाटोमा गुडिरहेको गाडी एकाएक जमिनमुनि हराउँदा स्थानीय बासिन्दा त्रसित छन्।