हेटौँडा—मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको गौरीगाउँमा जीप भासिएको स्थानबारे अध्ययन गर्न गएको भूगर्भविद्को टोलीले काम रोक्नु परेको छ। खानी तथा भूगर्भ विभागका भूगर्भविद्को टोलीले हिजोबाट स्थलगत अध्ययन थालेको भए पनि आज दिउँसो जमिन भासिने क्रम बढेपछि अध्ययन स्थगित गरेको हो।

हेटौँडा उपमहानगरपालिकाका अनुसार गाडी भासिएको स्थान वरपरको जमिनसमेत धस्सिँदै तल खस्न थालेपछि टोलीलाई काम रोक्न बाध्य बनाएको हो। घटनास्थलमा गहिरो दलदल बनेको छ, जसका कारण थप जोखिम उत्पन्न भएको छ।

तीन दिनसम्म प्रहरी र स्थानीयवासीले खोजी गर्दा जीप फेला नपरेपछि भूगर्भविद्को टोलीलाई घटनास्थलमा बोलाइएको थियो। टोलीले धातु पत्ता लगाउने उपकरण प्रयोग गरेर जमिनभित्र अध्ययन गर्दा जीप भएको ठाउँमा धातुजन्य वस्तु रहेको यकिन गरेको छ। तर, दलदल र जमिन भासिने जोखिमका कारण थप काम अघि बढाउन नसकिएको टोलीले जनाएको छ।

भूगर्भविद्का अनुसार जीप भासिएको स्थान निकै संवेदनशील बनेको छ। स्थानीय प्रशासनले घटनास्थलको सुरक्षा र थप जोखिम रोक्न आवश्यक कदम चाल्नुपर्ने बताएको छ। यसबारे थप अध्ययन र समाधानका लागि विशेषज्ञ टोली परिचालन गर्ने तयारी भइरहेको छ।

अहिलेका लागि घटनास्थलमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ।