बुटवल— जम्मु–काश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेको परिवारसँग भेट गर्न नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तव आइतबार बुटवल पुगेका छन् । उनले न्यौपाने परिवारको निवासमै पुगेर श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारलाई गहिरो संवेदना व्यक्त गरे।

अप्रिल २२ मा भएको उक्त हमलामा बुटवल उपमहानगरपालिका–१४ निवासी सुदीप न्यौपानेको ज्यान गएको थियो भने उनकी आमा गम्भीर घाइते भएकी थिइन्। सुदीप र उनकी आमा काश्मीर घुम्न गएका बेला उनीहरू आतंककारी आक्रमणको सिकार बनेका थिए।

राजदूत श्रीवास्तवले भेटका क्रममा भारत सरकारले हमलामा संलग्न आतङ्ककारीलाई कानुनी कठघरामा उभ्याउने दृढ प्रतिबद्धता व्यक्त गरे। साथै, उनले यो दु:खद घटनाप्रति गहिरो सहानुभूति व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए।

यो भेटलाई भारत सरकारको संवेदनशीलता र मानवीय पक्षप्रति जिम्मेवारीको रूपमा हेरिएको छ। विशेष गरी, एक नेपाली नागरिकले अन्तर्राष्ट्रिय आतंकवादको सिकार हुनुले सीमा पार आतंकवादको जोखिम र त्यसका मानवीय असरहरूबारे गम्भीर चासो बढाएको छ।

राजदूतको यो कदम नेपाल र भारतबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने दिशामा महत्त्वपूर्ण मानिएको छ। साथै, यसले दुई देशबीच आतंकवादविरुद्धको सहकार्यलाई थप प्रभावकारी बनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।