लुम्बिन—प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन।
सोमबार लुम्बिनीमा आयोजित २५६९औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन।
प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । ‘बुद्धका उपदेश विश्वका लागि सन्दर्भयोग्य छन्। झण्डै झण्डै भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति आएको थियो,’ प्रधानमन्त्री ओलीले भने – ‘हामीले संयमित हुन आग्रह गर्यौं। बुद्धका शान्तिका सन्देशहरू अहिले पनि, जहिले पनि, जहाँ पनि सान्दर्भिक छन्।’
प्रधानमन्त्री ओलीले विश्व मानव अस्तित्व र पृथ्वीको सुरक्षाका लागि बुद्धको सन्देश फैलाउनु आवश्यक रहेको धारणा राखे । ‘बुद्धका उपदेश छन, शान्तिका उपदेश छन्, मानवताका उपदेश छन्, करुणाका उपदेश छन्। यी सबैलाई आत्मसात् गर्न हामी सबैले आवश्यक ठान्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।
बुद्धको सन्देश र उपदेशको विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले बुद्ध दर्शन, बुद्धका सिद्धान्त, र ऐतिहासिक महत्वका बारेमा खुलेर चर्चा गरे ।
प्रधानमन्त्री ओलीले भिक्षु आनन्दप्रति आभार प्रकट गर्दै त्रिपिटकलाई भोजपत्रमा लेखी लिपिबद्ध रूपमा सुरक्षित राखिएको स्मरण गरे । त्रिपिटकको पहिलो लिपि म्यूजियममा अझै रहेको जानकारी समेत दिए ।


















