काठमाडौँ—प्रेस चौतारी नेपालले २०८२ लाई प्रशिक्षण वर्षको रूपमा घोषणा गर्दै यसको लोगो औपचारिक रूपमा सार्वजनिक गरेको छ। कार्यक्रम मंगलबार साँझ बालुवाटारमा भएको थियो, जहाँ नेकपा (एमाले)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले मर्यादित र व्यावसायिक पत्रकारिता क्षेत्रको विकास तथा पत्रकारहरूको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको अभियानको प्रशंसा गर्दै केही महत्वपूर्ण सन्देश दिए। उनले भने,"झूटा कुरालाई होइन, सत्यलाई साथ दिनुस्। तथ्य राखेर सत्यलाई स्थापित गर्नुस्। सोसल मिडिया र डिजिटल प्लेटफर्महरूमा अफवाह फैलाउने झूटका पुजारीहरूलाई प्रमाणका आधारमा सही बाटोमा ल्याउन पहल गर्नुस्।"

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा फैलाइने भ्रम चिर्ने महत्त्वपूर्ण भूमिका पत्रकारहरूले खेल्नुपर्नेमा जोड दिएका थिए। उनले थपे,"सामाजिक सञ्जालमा ताल र सुर बिनाका पिपिरी बाजा बजाउनेहरूलाई प्रमाणसहित जवाफ दिनुस्।"

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले २०८२ लाई प्रशिक्षण वर्ष घोषणा गर्दै सातवटै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारहरूलाई तालिम दिने जानकारी दिए। प्रशिक्षणका विषयहरूमा आधुनिक पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता, र श्रम अधिकारजस्ता क्षेत्र समेटिने छन्।उनले भने,"यो वर्ष हामीले देशभरिका पत्रकारलाई प्रत्यक्ष प्रशिक्षण दिने लक्ष्य लिएका छौँ। यसले व्यावसायिक क्षमता वृद्धि र मिडिया क्षेत्रलाई थप मर्यादित, उत्तरदायी, र जनमुखी बनाउन मद्दत गर्नेछ।"

जिल्ला शाखाहरूले कम्तीमा तीन वटा प्रशिक्षण कार्यक्रम आयोजना गर्नेछन्।

प्रेस चौतारी नेपाल, प्रगतिशील व्यवसायी पत्रकारहरूको संस्था, विगत २७ वर्षदेखि पत्रकारहरूको अधिकार, पेसागत हित, र नीति निर्माणमा अग्रणी भूमिका खेल्दै आएको र यस संस्थामा सात हजारभन्दा बढी पत्रकार आबद्ध रहेको उपाध्यक्ष चेतन अधिकारीले बताए ।

कार्यक्रममा एमालेका संगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल र केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारीका पूर्व अध्यक्ष गणेश बस्नेत लगायतको सहभागीता रहेको थियो  ।

प्रशिक्षण वर्ष २०८२ को माध्यमबाट प्रेस चौतारी नेपालले पत्रकारहरूको व्यावसायिक सशक्तीकरण र मर्यादित पत्रकारिता अभ्यासलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको छ। प्रधानमन्त्रीको सुझावले पत्रकारितालाई अझ जिम्मेवार र प्रमाण-आधारित बनाउने दिशामा मार्गदर्शन प्रदान गर्न सक्ने बताइएको छ ।