बेलबारी— मोरङको बेलबारीमा दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय पत्रकार नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान गरिने भएको छ।

चलचित्र पत्रकार संघ नेपालको बुधबार काठमाडौंमा सम्पन्न बैठकले बस्नेतलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको संघका केन्द्रीय महासचिव रघुनाथ सापकोटाले जानकारी दिए। सम्मान यही जेठ ६ देखि ९ सम्म इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजना हुने २६औँ वार्षिकोत्सव, राष्ट्रिय चलचित्र पत्रकारिता दिवस, र दोस्रो राष्ट्रिय भेलामा प्रदान गरिने छ।

बस्नेत बेलबारीबाट प्रकाशित हुने बेतना दैनिकका प्रधान सम्पादक हुन्। उनी चलचित्र पत्रकार संघ पूर्वाञ्चलका सचिव, चलचित्र पत्रकार संघ नेपाल कोशीको दुई कार्यकाल अध्यक्ष भई हाल केन्द्रीय सदस्य तथा कोशी प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालिरहेका छन्।

पत्रकारितामा सक्रिय बस्नेतले सामाजिक संघ-संस्थाहरूमा समेत नेतृत्वदायी भूमिका निभाउँदै आएका छन्। उनले यसअघि नेशनल सोसल वेलफेयर अवार्ड २०२१ समेत प्राप्त गरिसकेका छन्।

यस सम्मानले बस्नेतको पत्रकारिता तथा चलचित्र क्षेत्रप्रतिको योगदानलाई उच्च मूल्यांकन गर्दै प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।