काठमाडौं— नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल तेह्रथुमको जिल्ला अधिवेशन सम्पन्न भएको छ । प्रत्येक वर्ष जेष्ठ १ गते मनाइने युवा, विद्यार्थी दिवसको अवसर पारेर युवासंघले ११ औँ जिल्ला अधिवेशन सम्पन्न गरेको हो ।

यो पटक युवा संघ तेह्रथुमले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै जन्मघर आठराई गाउँपालिका–५ मा सम्पन्न गरेको छ । तत्कालिन प्ररायुसंघ नाम रहेको राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष प्रधानमन्त्री ओली नै थिए । अध्यक्ष ओलीको जन्मस्थानमा अधिवेशन आयोजना गर्नुको उद्देश्य स्थानीय युवाहरूलाई प्रेरणा दिनु र राष्ट्रिय नेताको जन्मथलोमा युवाहरूको संलग्नता बढाउनु रहेको आयोजकहरूले बताएका छन्।
अधिवेशनले अनिल नेपालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । कमिटीको उपाध्यक्षमा मण्डेला चोम्बाङ र सचिवमा भरत कार्की निर्वाचित भएका छन् । यसैगरी, उपसचिवहरूमा यादव खापुङ र विजय सिङ्घक निर्वाचित भएका छन् भने कोषाध्यक्षमा सुनिता गुरुङ चुनिएकी छन् ।


त्यस्तै, युवा विज्ञ परिषद् प्रमुखमा जीवनकाजी थापा निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन राष्ट्रिय युवा संघ नेपालको अध्यक्ष क्षितिज थेबेले गरेका थिए ।
कार्यक्रममा नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल लगायतले अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
अधिवेशनको उदघाटन समारोहमा स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए ।