काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको छ।

टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रविधि खरिद प्रकरणमा भ्रष्टाचार आरोप लागेपछि बस्नेतसहित १६ व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरिएको हो। सिन्धुपाल्चोकबाट प्रत्यक्ष निर्वाचित सत्तारूढ कांग्रेस नेता बस्नेतमाथि भ्रष्टाचारको आरोप लागेको छ।

बस्नेतसँगै तीन सांसद अहिले निलम्बनमा परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर मुद्दा दायर गरिएका एमाले सचिव टोपबहादुर रायमाझी र सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेको पद पनि निलम्बनमा छ। रायमाझी र लामिछाने पुरपक्षका लागि थुनामा रहेका छन्।

सहकारी ठगी प्रकरणमै राप्रपाकी सांसद गीता बस्नेत पनि फरार रहेकी छिन्।

त्यस्तै भ्रष्टाचार अभियोगमा विशेष अदालतबाट दोषी ठहर भए पनि कांग्रेस सांसद टेकबहादुर गुरुङ सर्वोच्च अदालतको आदेशपछि निलम्बन फुकुवा गरी पुनः प्रतिनिधिसभामा सक्रिय भएका छन्।