धादिङ—धादिङको उत्तरी क्षेत्रमा गुण्डागर्दी, हप्ता असुली र अपराधमा संलग्न राधाकृष्ण भण्डारी उर्फ राधे समूहले आतङ्क मच्चाउँदै आएको छ। स्थानीयबासिन्दाका अनुसार, राधे समूहका सदस्यहरूले गत वैशाख २६ गते खनियावास गाउँपालिका–४, दार्खास्थित स्वास्थ्यचौकीमा दुई युवामाथि खुकुरी प्रहार गरेका थिए।

सुत्केरी महिलालाई उपचारका लागि स्वास्थ्यचौकी पुगेका विवस तामाङ र अशोक तामाङका छोरामाथि राति ११:३५ मा खुकुरी प्रहार भएको हो। घटनामा विवस तामाङ गम्भीर घाइते भएका छन्। उनलाई तत्काल धादिङ हुँदै काठमाडौं ल्याइ उपचार गरिएको छ। एमआरआई र सिटिस्क्यान रिपोर्टले गम्भीर चोट देखाएको छ।

घटनाबारे प्रतिक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सुवास हमाललाई प्रतिक्रिया माग्दा जाहेरी आएको स्विकार गरे ।

घटनापछि पीडित परिवारले अभियुक्तहरुविरुद्ध किटानी जाहेरी समेत दिएपनि प्रहरीले त्यसलाई गम्भिरतापूर्वक अनुसन्धान नगरी पक्राउ नगरेको पीडित परिवारको गुनासो छ ।

यद्धपी डिएसपी हमाल भने आफूहरुले अनुसन्धान गरिरहेको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि प्रहरी निरिक्षकको नेतृत्वमा कमाण्ड नै पठाउने तयारी रहेको बताए ।

राधे समुहमा रहेका राम अकिल सिंह र झ्याप्ले भनिने अमर तामाङ खुंखार अपराधमा संलग्न छन् ।

२०६९ मंसिर १८ गते भिषण सिंखडासहितको समुहमा रहेका यो घटनामा समेत फरार रहेका अमर लामा समेतका व्यक्तिहरुले स्थानिय विजय तामाङको हत्या गरेका थिए । विजय समर्थित समुहले घटना भएको १२ घण्टा नबित्दै भिषण सिंखडाको अपहरणपछि हत्या गरेको थियो । यो घटना सार्वजनिक भएपछि धादिङको खनियाबासमा हत्याको बदला हत्याले लिने गरेको तथ्य बाहिर आएको थियो ।

भिषण हत्यापछि फरार रहेको समुहले नै सत्यदेवी गाविस-३ स्थित गंगालाल तामाङको हत्या गरेका थिए ।

२०६७ कार्तिक १ गते दार्खाकै स्थानिय एमाले नेता शिव थापाको हत्या भएको थियो । प्रहरीले घटनालाई समयमै अनुसन्धान गरी कारबाही गर्न नसक्दा यो क्षेत्रमा अपराधको घटना बढ्दो छ ।