काठमाडौँ— देशभर विद्युत् आपूर्ति समस्याले बिहीबार र शुक्रबार व्यापक असर पारेको छ। बारम्बार बत्ती जाने समस्याले सर्वसाधारण मात्र नभई सरकारी गतिविधिमा समेत अवरोध पुर्‍याएको छ। सिंहदरबारमा केही बैठकहरू मोबाइलको फ्ल्यास बालेर सञ्चालन गर्नुपरेको दृश्यले यो समस्या कति गम्भीर छ भन्ने देखाएको छ।

बिहीबारदेखि झ्याप्प–झ्याप्प बत्ती जाने समस्याले सर्वसाधारणलाई हैरान बनाएको छ। शुक्रबार पनि सर्वसाधारणले पटक–पटक यस्तो समस्या झेल्नुपरेको थियो। नेपाल विद्युत् प्राधिकरणले भारतबाट भइरहेको बिजुली आयातमा समस्या आएको कारण यस्तो अवरोध भएको जनाएको छ।

सरकारले दुई महिनाअघि प्राधिकरणमा नेतृत्व परिवर्तन गरेपछि विद्युत् आपूर्तिमा यस्तो समस्या देखिएको भन्दै आलोचना सुरु भएको छ। पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गरेपछि समस्या थपिएको आरोप छ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले बत्ती जाने समस्याको समाधानका लागि पहल भइरहेको बताए। उनले भारतसँगको विद्युत् आपूर्ति सम्झौतामा आएको प्राविधिक समस्या समाधान गर्न वार्ता भइरहेको जानकारी पनि दिए।

सर्वसाधारण भने यस्तो समस्याबाट तत्काल मुक्ति पाउने आशामा छन्। विद्युत् आपूर्तिमा सुधारका लागि कडा कदम चाल्न सरकार र प्राधिकरणमाथि दबाब बढेको छ।