काठमाडौँ— केही भारतीय मिडियामा केही वर्षअघि हत्या भएकी भनिएकी नेपाली मोडल अञ्जना लामाबारे समाचार प्रसारण भइरहेका छन्। ती समाचारमा अञ्जना लामासँग सम्बन्धित घटनालाई आफ्नो तरिकाले प्रस्तुत गर्दै दैनिक भाष्कर लगायतका मिडियाले कभरेज गरेका छन्।

तर, यसै घटनाको समाचारमा नेपाली कलाकार दीपाश्री निरौलाको फोटो प्रयोग भएपछि उनले आपत्ति जनाएकी छन्। समाचारमा दीपाश्रीको तस्वीरलाई अञ्जना लामाकी जेठानीको रूपमा प्रस्तुत गरिएको छ। यसले उनलाई हैरानी दिएको छ।
दीपाश्रीले आफ्नो तस्वीर गलत तरिकाले प्रयोग गरिएको र यो घटनासँग कुनै सम्बन्ध नभएको बताइन्। उनले भनिन्, "यो फोटोलाई गलत रूपमा प्रयोग गरेर भ्रम फैलाइएको छ। यससँग मेरो कुनै लेनादेना छैन। कृपया यस्तो भ्रममा नपर्नुहोस्।"


दीपाश्रीसँग निकट रहेका अभिनेता तथा निर्माता दीपकराज गिरीले उक्त तस्वीर 'छक्कापञ्जा ३' को प्रचारप्रसारको क्रममा फ्यानसँग खिचिएको बताए। उनले भारतीय मिडियाले त्यसलाई दुरुपयोग गरेर गलत सन्दर्भमा प्रस्तुत गरेकोप्रति असन्तुष्टि जनाए।
दीपाश्रीले यस्ता घटनाले व्यक्तिको सामाजिक प्रतिष्ठामा असर पर्ने भएकाले मिडियाले समाचार प्रकाशन गर्दा जिम्मेवार बन्नुपर्ने धारणा राखेकी छन्।