विराटचोक – पूर्व–पश्चिम राजमार्गको पूर्वी खण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सन कार्य मनसुन सुरु हुनुअघि नै सम्पन्न गर्न निर्देशन दिइएको छ। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्माण कम्पनीलाई उक्त निर्देशन दिएको हो।
करीब १० अर्ब रुपैयाँको लागतमा एशियाली विकास बैंकको सहयोगमा निर्माणाधीन यस स्तरोन्नति योजनाको काम छिटो सम्पन्न गर्न पत्राचारमार्फत आग्रह गरिएको आयोजनाका प्रमुख इन्जिनियर सुनिलबाबु पन्तले जानकारी दिए।
उनका अनुसार डाइभर्सन निर्माणमा ढिलाइ हुँदा मनसुनका समयमा डाइभर्सन बगाउने तथा यातायात अवरुद्ध हुने जोखिम बढेको छ। ‘बर्खामा खाल्डाखुल्डी भएका डाइभर्सनले दुर्घटना र विपद्को सम्भावना बढाउँछ,’ पन्तले भने, ‘त्यसैले साना पुल र कल्भर्टको निर्माण छिटो गरी यातायात मुख्य सडकबाटै सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो जोड छ।’
हालसम्म सडक निर्माणको भौतिक प्रगति १९ प्रतिशत र पुल–कल्भर्टको प्रगति १७ प्रतिशत मात्र रहेको छ। निर्माण कार्यमा देखिएको ढिलाइले स्थानीय बासिन्दामा असन्तुष्टि बढेको छ।
मनसुनको समयमा देखिन सक्ने समस्यालाई समाधान गर्न ‘र्यापिड रेस्पोन्स टोली’ तयारी अवस्थामा राखिएको पन्तले बताए। साथै, वर्षायामभरि पनि निर्माण कार्य निरन्तर जारी राख्ने व्यवस्था गरिएको छ।
निर्माण कार्यमा ढिलाइ र वर्षायाममा सवारी आवागमन अवरुद्ध हुने सम्भावनाका कारण स्थानीय बासिन्दाले गुनासो गरेका छन्। वर्षायाममा यातायात सञ्चालनमा अवरोध नआओस् भनेर निर्माण कम्पनीको कार्यप्रगति नियमित अनुगमन भइरहेको आयोजनाले जनाएको छ।
डाइभर्सन र साना संरचना समयमै सम्पन्न गर्नुपर्ने यो निर्देशनले निर्माण कार्यलाई गति दिने अपेक्षा गरिएको छ। मनसुनमा हुने सम्भावित जोखिमलाई ध्यानमा राख्दै परियोजनाले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने स्थानीयको माग छ।




















