• मिलन के राउत

उर्लाबारी— किसानका गुनासैगुनासा छन् । तर, ती गुनासाहरु तर्क र तथ्यको नजिक कति छन्, विषय पेचिलो बन्दै आएको छ । कतिसम्म भने स्थानीय निकायबाट कृषि उपजका बीउबीजन र यान्त्रिक सामग्री अनुदानमा लिनेहरुका झन् धेरै गुनासा छन् । 

प्रसंग १ः 

हालै उर्लाबारी नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा एकजना ‘किसान’ अचम्मैसंग कुर्लिए । उनको भनाई थियो, ‘हामी किसान हेरेको हेरै, राज्यबाट एक सुको सहयोग भएन ।’ उर्लाबारी ६ घर भएका उनको ‘ट्रयाक रेकर्ड’ हेर्दा नगरपालिकाबाट अनुदान सामग्री लाने किसानको सुचिमा अग्रपंक्तिमै थिए । तिनै व्यक्तिले पछिल्लो पटक डेढ लाख मुल्यका काउम्याट ७५ प्रतिशत अनुदानमा लगेको सम्बन्धित शाखाको लगतमा भेटियो । 

प्रसंग २ः

सिजनमा खरबुजा खेती गर्ने अर्का किसान छन्, जसले युट्युबमा ‘सरकारले किसानलाई कत्तिपनि सहयोग गरेन’ भन्दै अन्तरर्वाता दिनपनि भ्याए । बाँझो खेतमै पुगेर नगरपालिका कृषि शाखाका प्राविधिकले जसलाई उत्साहित मात्रै बनाएनन्, प्राविधिक ज्ञान दिए । कृषि शाखाले अनुदानमै आवश्यक मल्चिङ (बिरुवा सुरक्षित राख्ने प्रविधि)का साथै महंगो मुल्यको बीउबीजन उपलब्ध गराए । एक सिजनमा ६ लाख बराबरको खरबुजा बिक्री गरेको भन्दै उनैले दंग पर्दै ‘सफलताका कथा’ साथीभाईलाई सुनाउँदै हिँडे ! यद्यपि जुन निकायले लाभान्वित तुल्यायो, त्यता एकरत्ति श्रेय दिन उनले आवश्यक ठानेनन् । 

कुनै अनुदानको भर नपरी आफ्नै पौरखमा रमाएका किसानका गुनासा र आक्रोशलाई भने स्वभाविक मान्न सकिन्छ । केवल बजारका खपतका लागि ‘जताततै भ्वाङ’ मात्रै देख्ने किसानहरुले उर्लाबारी ४ का शोभित कार्कीबाट सिक्ने की ! 

कृषि कर्मलाई नै दैनिकी बनाएका कार्की मकैका झुत्तो बोकेर उर्लाबारी नपा.को ४ नम्बर वडा कार्यालय पुगे । वडाध्यक्ष कल्याणकुमार राई र वडा सदस्य सुरेन्द्र न्यौपाने कार्यकक्षमै थिए । मकैको झुत्तो बोकेर आएका शोभितलाई देखेपछि मुखामुख गर्न थाले । यी जनप्रतिनिधिको आशंका थियो, आज दह्रै झाँको झार्ने भए । ती अनुमान विपरित शोभितले वडाध्यक्ष र सदस्यसंग गला मिलाए, हात मिलाए । एकछिन् सन्नाटा छाएको कार्यकक्षमा एकाएक ‘ट्वीस्ट’ थपियो । उनले मकैका घोघासहितका झुत्तो त आफ्नो वडाका जनप्रतिनिधिलाई उपहार ल्याएका रहेछन् । 

कार्कीका अनुसार वडा कार्यालयले दिएको सीपी ८०८ मकैको १४ केजी बीउ उनले एक विघा २ कट्ठामा लगाएका थिए । दुई सय मनमाथि फसल (उत्पादन) भएपछि आफु रोमाञ्चित भएको, आफ्ना बुवा त झन् गदगद् भएको उनले सुनाए । त्यही खुसी बाँड्न जनप्रतिनिधिलाई मकैको घोघा उपहार दिएको उनको कथन छ । शोभितले भने, ‘जलवायुका कारण, वीउ छर्ने र गोडमेलमा ढंग नपुग्दापनि मकैमा दाना नलाग्ने हुन्छ । सबै कुराको तालमेल नमिल्दा उत्पादनमा ह्रास आउनु स्वभाविक भएपनि अत्तो न पत्तो जनप्रतिनिधि र निकायलाई धारेहात लगाउने प्रवृति छ । त्यसो नगरौं भन्नका लागि एउटा सन्देश छाड्न् आफुले कर्तव्य ठानेको हुँ ।’ मकैमा दाना नलाग्दा गाली गर्नेहरुले राम्रो उत्पादन हुँदा स्याबासी दिने की नदिने भन्ने हो, उनले भने । 

दानेदार र स्वादिलो मात्रै नभई अस्वभाविक मकै उत्पादन भएको खुसीमा जनप्रतिनिधिसंग आत्मीयता बाँडको उनले बताए । नगरपालिका र वडा कार्यालयलाई उनको सुझाव छ – बीउबीजन वितरण गर्दा समग्र सबैलाई एकै ढंगले वितरण नगरियोस् । खाट्टी किसानको तथ्याकं निकालेर पर्याप्त बीउबीजन उपलब्ध गराइयोस् ।