आठराई—तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आठराई गाउँपालिका–३ स्थित हवाकु पञ्चमी टोलमा दुर्घटना भएको हो ।

सिमेन्ट बोकेर ठुटेवरबाट लिम्बुनी पुलतर्फ जाँदै गरेको ना ७ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकमा गुडिरहेका बेला आफैं अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खस्दा चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो ।

बिहीबार दिउँसो १२ः३० बजेतिर दुर्घटना हुँदा परियार गम्भीर घाइते भएका थिए । उपचारका क्रममा गणेशमान सिंह अस्पताल पाँचथरमा साँझ ५ः४० बजेतिर उनको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।

ट्याक्टर घटनास्थलमै छ । ट्याक्टरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।